२८ चैत, काठमाडौं । नेपाल भारत सिमा नजिक लुम्बिनीबाट एक्कासी हराएका पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जागिरका लागि नेपाल आएको खुलासा भएको छ ।

हबिब एक जागिरका लागि अन्र्तवार्ता दिन नेपाल आएको उनको परिवारलाई उद्दृत गर्दै पाकिस्तानी मिडियामा खवर छापिएको छ । पाकिस्तानको चर्चित जिओ टिभीले हबिब जागिरका लागि अन्र्तवार्ता दिन नेपाल पुगेको दाबी गरेको छ ।

‘स्टार्ट सोलुसन डट बिज’ नामको अन्र्तराष्ट्रिय कम्पनीमा उनको जागिर तय भएको र कम्पनीका तर्फबाट मार्क थम्सनले अन्र्तवार्ताका लागि नेपाल बोलाएको समाचारमा उल्लेख गरिएको छ ।

यता हबिब विगत ४ दिनदेखि नेपालबाट हराएको सम्बन्धमा नेपाल प्रहरीले खोजी कार्य अगाडि बढाएको छ । पाकिस्तानी दूतावासले उनको खोजीका सम्बन्धमा नेपाल सरकारलाई शुक्रबारै जानकारी गराइसकेपछि नेपाल प्रहरी खोजीमा जुटेको हो।  नेपाल प्रहरीको विशेष ब्यूरो, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली हबिबको खोजीमा जुटेका छन्।

आफ्ना पूर्व सेना अधिकृत नेपालको भारत सीमा नजिकबाट हराएपछि पाकिस्तानमा यसको व्यापक चर्चा भएको छ । भारतीय खुफिया एजेन्सी रअ माथी शंका गर्दै विभिन्न पाकिस्तानी मिडियाले खवर छापेका छन् ।