२४ चैत, गोलबजार (सिरहा), । मिहेनतको फल मिठो हुन्छ भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन्, सिरहा लहान नगरपालिका–१ का राजकुमार साह । साह पान बेचेर मात्रै वार्षिक लाखौँ रुपैयाँको आम्दानी गर्ने गर्छन् । पान बेचेर लहानमा घडेरी किनेर चारकोठे पक्की भवनसमेत बनाउन सफल राजकुमार आफ्नो पान पसलप्रति सन्तुष्ट छन् । उनी भन्छन् – पान पसल सञ्चालन गर्दा आफूलाई विश्वासै थिएन । तर व्यापार सानो गरे पनि आम्दानी राम्रै हुने गर्छ । 

विसं २०६३ सालमा लहानस्थित सहिद रमेश चोकमा खोलेको पान पसललाई उनले निरन्तरता दिँदै आएका छन् । पान बेच्न भ्याइनभ्याई हुने गरेकाले श्रीमती पनि उनलाई सघाउँछिन् । पानमा चुना लगाउने काम श्रीमती गर्छन् भने थप सामग्री हालेर उनी आफै पान तयार गर्छन् ।

उनले पान पसलको आम्दानीबाटै दुईवटा छोरालाई लहानस्थित बोर्डिङ स्कुलमा पढाएका छन् । राजकुमारको पसल लहानकै प्रसिद्ध पान पसलमध्येमा पर्छ । उनी बिहान ६ बजे पसल खोल्ने र राति ८ बजे बन्द गर्ने गर्छन् । पसलमा जतिबेला पनि ग्राहकको भीड हुने गर्छ ।