१२ पुस, काठमाडौं । दोश्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो ।

फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । उसका लागि मोहम्मद जैद आलमले सर्वाधिक ५७ रन बनाए । पुनित मेहराले ३२, प्रदीपसिंह ऐरीले ३६ र रोमान खानले नटआउट १८ रन बनाएपछि त्यो जितका लागि पर्याप्त हुने सकेन । बलिङतर्फ चितवनका करण केसीले ३, सनि पटेलले २ र रोहन मुस्तफाले एक विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो । चितवनका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाए । कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे । विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २–२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

चितवन राइनोजको कप्तानी पारस खड्काले सम्हालेका थिए भने विराटनगर टाइटान्सको कप्तानी प्रदीपसिंह ऐरीले गरेका थिए । चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।