१२ पुस, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई जितका लागि २ सय ३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो । चितवनका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाए । कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे । विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २–२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । जारी लिगमा चितवन अपराजित रहेको छ । अपराजित यात्रालाई निरन्तरता दिंदै उपाधि उचाल्ने लक्ष्यमा चितवन रहेको छ । यस्तै लिग चरणको हारको बदला फाइनलमा लिने दाउमा विराटनगर रहेको छ ।