भक्तपुर, १२ वैशाख । ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा यहाँ तीनदिने भूकम्प इञ्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ ।

सम्मेलनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका हुन् । यही वैशाख १४ गतेसम्म चल्ने सम्मेलनमा भारत, चीन, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशका १२ विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र अन्य मूलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक तथा शोधनकर्ताका ५० शोध प्रस्तुति रहने कलेजका प्राचार्य सुनिल दुवालले जानकारी दिए ।

विदेशी प्राध्यापक, अनुसन्धानकर्ता र शोधकर्ताहरुको सहभागिता हुने सम्मेलनमा २५० प्राज्ञको सहभागिता छ । सम्मेलनमा सहभागी विदेशी र विशिष्ट पाहुनालाई भक्तपुरमा भइरहेको पुनर्निर्माणको स्थलगत अवलोकन गराइने कार्यक्रम राखिएको छ । सम्मेलनको अन्तिम दिन साँझ कलेज प्राङ्गणमा परम्परागत भैल प्याखं र सांस्कृतिक प्रस्तुतिसँगै सहभागीलाई बिदाइ गरिनेछ । नेमकिपा अध्यक्ष बिजुक्छेले चार वर्षपछि पनि भूकम्पको पराकम्पनले समाजलाई तर्साउँदै आएको उल्लेख गर्दै नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा परेकाले यसबाट मुक्त हुन नसक्ने बताए।

उहाँले भवन एवं भौतिक संरचना निर्माणमा पुराना र प्रचलित आचारसंहितालाई पालना नगर्दा धेरै भवन तथा सम्पदा नष्ट भएकाले भवन निर्माण संहितालाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका सदस्य प्रेम सुवाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईं र सृजना सैँजु, भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप इञ्जिनीयरिङ कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति नगरपालिकाका उपप्रमुख तथा आर्किटेक्ट रजनी जोशी, इञ्जिनीयरिङ अध्ययन संस्थाका डिन रामचन्द्र सापकोटा, नेपाल इञ्जिनीयरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौला, प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, भक्तपुर नगरका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुरको सम्पदा पुनर्निर्माणमा भएका चुनौतीबारे चर्चा गरेका थिए । (रासस)