४ चैत, एजेन्सी । पोल्याण्डका सरकारका १५ जना मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँका २९ वर्षीय वातावरणमन्त्री माइकल वोसको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि १५ जना मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको प्रधानमन्त्रीका कर्मचारी प्रमुख मिकल ड्वार्जाइकले बताएका छन् ।

कोरोनाको परीक्षण गर्दा सोमबार आफूमा भाइरस पोजेटिभ देखिएको मन्त्री वोसले घोषणा गरेका थिए । उनले आफूमा कुनैपनि नकारात्मक भावना नआएको खुलासा गरेका छन् । मन्त्रीहरुको अन्तिम बैठक १० मार्चमा बसेको थियो । प्रधानमन्त्रीका कर्मचारी प्रमुख ड्वार्जाइका अनुसार उक्त बैठमा २४ मध्ये ९ मन्त्री अनुपस्थित थिए । बैठकमा प्रधानमन्त्री माटुस्ज मोराविकी र स्वास्थ्यमन्त्री मन्त्रीलुकाज जुमोव्स्की सहभागी थिएनन् ।

बैठकमा सहभागी मन्त्रीहरुको सोमबार साँझ परीक्षण गरिएको छ र उनीहरुको स्वास्थ्यको रिपोर्ट आउन बाँकी छ । पोल्याण्डमा अहिलेसम्म २ सय ५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ ५ जनाको मृत्यु भइसकेको छ भने २०० जना अझै उपचाररत छन् । उपचारमा रहेकामध्ये ६ जनाको अवस्था गम्भीर छ ।