१७ भदौ, म्याग्दी।
शिरमा बराह शिखर हिमाल । वरिपरि अग्ला पहाडले घेरिएर बनेको उपत्यका । खयरतालमा पुग्दा देखिने प्राकृतिक भू–बनोट हो यो । म्याग्दीको उत्तरी पर्यटकीय शिख गाविसको पाउद्धारस्थित खयरलेक समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित छ । वरिपरि नाङ्गो पहाड र हँसिलो हिमालले घेरिएर बनेको उपत्यकामा रहेको खयर तालको छेवैमा खयर भारानीको थान रहेको छ । तलाउ र थानको नजिकबाट अन्नपूर्ण, धौलागिरि, बराह शिखरलगायतका हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने हिमालमा हिउँ बगेको (आइसफल)को दृश्य झनै लोभलाग्दो देखिन्छ । यो ताल म्याग्दीकै अग्लो स्थानमा रहेको तालका रुपमा चिनिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण खयरक्षेत्र जिल्लाकै उत्कृष्ट र साहसिक पर्यटकीय गन्तव्यस्थलसमेत हो । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको यात्रामा पुगिने खयरक्षेत्रको सुन्दरतालाई त्यहाँ पुग्ने जो कोहीले प्रकृतिको परीका रुपमा लिने गर्छन् । विशेष गरी जनैपूर्णिमा पर्वको अवसरमा खयर भारानी थान र तलाउमा पूजापाठ, दर्शन र भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा भक्तजन तथा धार्मिक पर्यटक पुग्ने गरेको स्थानीय रुद्र तिलिजा मगरले बताउनुभयो ।
मनोकाङ्क्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यतामा घुमफिरका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ । गाउँबस्तीदेखि निकै टाढा र भौगोलिक रुपमा विकट भए पनि खयरलेकको मनमोहक दृश्य र खयर भारानी थानको दर्शनका लागि आउनेहरुको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको शिख–६ पाउद्वारका वडा नागरिक मञ्चका संयोजक मीनबहादुर गर्बुजाले बताए । “आफ्नो मनोकाङ्क्षा र भाकल पूरा हुनु नै यस क्षेत्रको मुख्य विशेषता हो, त्यसमा पनि यहाँको प्राकृतिक सौन्दर्यताले प्रभावित नहुने कोही हुँदैन” – उनले थपे ।
पाउद्वार गाउँदेखि दुई दिनको बस्तीरहित अग्ला पहाडको पैदल यात्रा कठिनपूर्ण भए पनि त्यहाँ पुग्ने कसैले पनि थकानको महसुस नै गर्दैनन् । बरु त्यहाँको प्रकृतिको स्नेहमा रहन पाएकामा यात्रीहरु गर्व गर्छन् । म्याग्दीको बेग घर भई हाल अमेरिकामा बस्दै आएका यामबहादुर गर्बुजाले खयर भारानीको दर्शन र अनुपम प्राकृतिक सौन्दर्यताका कारण जनैपूर्णिमाका अवसरमा दोस्रो पटक खयर क्षेत्र पुगेको बताए ।
“कृत्रिम सुन्दरतामा रमाउन हजारौँ खर्चनुपर्छ, यहाँ हामीले समय मिलाएर भम्रण गरे पुग्छ, तर यहाँको अझै प्रचारप्रसार पुगेको छैन” – उनले थपे ।” तीन पटकसम्म खयर पुगेकी दोवाकी मायाँ पुर्जाको अनुभव पनि उस्तै छ । “यहाँको पर्यटकीय सम्पदाको आकर्षण र खयर भारानीमा दर्शन गर्दा सुख, शान्ति र समृद्धि प्राप्तिको मनोकामना पूरा हुने भएकाले पटक–पटक दोहोर्याएर यहाँ आएको छु” – उनले भने । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा विकासका नाममा खनिएका धुले सडकले प्राकृतिक सुन्दरतालाई मेटाउन थालेको भए पनि खयर क्षेत्रमा पुग्ने पर्यटक प्रकृतिको सुन्दरतासँग हौसिने गर्छन् ।
पदमार्गको दायाँबायाँ चरन क्षेत्रमा देखिने भेडाबाख्रा र चौँरीको हुलसँगै रङ्गीविरङ्गी जङ्गली फूलहरुको बगैँचाले थप मन लोभ्याउने गरेको पोखराबाट भम्रणका लागि त्यहाँ पुगेका किशोर पुनले आफ्नो अनुभव सुनाए । “सहरको कोलाहल वातावरणमा बस्नेहरुका लागि यो स्वर्ग जस्तै हो, हिमाल, पहाड र हरियाली फाँटलाई नियाल्दा नजर नै थाक्दैनन्” – उनले भने । दन्तलहर झैँ मिलेका हिमालमा छिनछिनमा हुने बादलको लुकामारी नियाल्दा सबै दुःख, थकान र समस्यालाई भुलाइदिएको अनुभव यात्रीहरुलाई हुने गर्छ ।
पदयात्राअन्तर्गत पाउद्वार गाउँदेखि माथि तीन हजार ६६० मिटर उचाइमा रहेको पर्यटकीय खोप्रामा पहिलो दिनको यात्रालाई विश्राम दिने गरिन्छ । त्यहाँ सामुदायिक विश्राम गृह र एक निजी लज सञ्चालनमा रहेको छ । खयर क्षेत्रको भ्रमणमा जानेमध्ये केही लजमा बास बस्ने गर्छन् भने केही आफ्नै टेन्टमा रात कटाउँछन् । खुला आकाशमुनि टेन्ट टाँगेर रात कटाउनु निकै रमाइलो हुने गर्छ । खोप्रादेखि ६०० मिटर माथिको नौलो वन र खयरखोलाको किनारमा पुगेर दोस्रो दिनको पदयात्रा रोकिन्छ । दर्जनौँ अग्ला पहाडहरुलाई छिचोल्दै खयरखोलाको किनारमा पुग्दा न त कुनै बस्ती भेटिन्छ न त होटल नै ।
त्यहाँ रहेका केही भेडीगोठमा सामान्य बसोबासको व्यवस्था मिलाइने गरेको भए पनि धेरैजसोले समूहमा टेन्ट हालेर जाडो र पानीबाट जोगिने गर्छन् । खयरखोलादेखि बिहान सबेरै उठेर खयरलेकको यात्रा गरिन्छ । उच्च हिमाली क्षेत्रमा उकालो यात्रा निकै सकसपूर्ण भए पनि त्यहाँ पुग्नेहरु प्राकृतिक भू–बनोट र छटा हेरेर सबै दुःख भुल्ने र आनन्दको अनुभव गर्ने गर्छन् । झन्डै दुई घन्टापछि खयरलेक पुगेपछि मात्रै बराह शिखर र अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर ताल र खयर भारानी थानको दर्शन र अवलोकन गर्न पाइन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रचार प्रसार र यहाँ आवश्यक पूर्वाधार निर्माण गर्न सकिए धार्मिकसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय अगुवाहरु बताउँछन् ।