१० चैत, काठमाडौं । मुलुकमा संघीयता विवाद पेचिलो बन्दै गएका बेला यसबारे चिनियाँ नेताहरुसँग परामर्श गर्न एमाओवादी अध्यक्ष प्रचण्ड सोमबार अपराह्न चीन गएका छन् । प्रचण्डले तीन महिनाअघि सम्म राज्य पुनर्संरचना अर्थात् संघीयताबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रबारे त्यहाँ छलफल गर्ने स्रोतले बतायो ।

पत्रमा प्रचण्डले नेपालमा जातीय पहिचानसहितको संघीयतामा जाँदा छिमेकीलाई कुनै सुरक्षा चुनौती नहुने आवश्वस्त पार्न खोजेका छन् । चीन पहाडमा धेरै र मधेसमा थोरै प्रदेशको विपक्षमा देखिँदै आएको छ ।

चिनियाँ अधिकारीहरुले उत्तर–दक्षिण जोडिने थोरै प्रदेशका पक्षमा विभिन्न राजनीतिक दलका नेताहरुसमक्ष मत राख्दै आएका छन् ।

Prachanda China prasthan (2)

 

एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले जातीय पहिचानसहित १० प्रदेशको संघीय संरचना बनाउन खोजेको छ । सत्तासीन दल कांग्रेस–एमालेले एमाओवादीको यो अवधारणासँग सहमत छैनन् । दलहरुबीच यसमा कुरा नमिल्दा संविधान जारी हुन सकेको छैन ।

प्रचण्डले पत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने शासकीय स्वरुप र विभिन्न जनजातिको पहिचान झल्किने गरी प्रदेश बनाउँदा राष्ट्रिय एकता बलियो हुने व्यहोरा उल्लेख गरेको स्रोतको दाबी छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।