१४ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई पुन सहमतिमा ल्याएका छन् । यस अघि तराई मधेसका ११ जिल्लामा मात्र स्थानीय तहको थप्ने सहमति भए पनि आज सरकार र मधेसी मोर्चाबीचको बैठकले तराईमधेसको १९ जिल्लामा स्थानीय तह थप्ने सहमति गरेको हो ।

‘११ बाट बढाएर १९ जिल्लामा स्थानीय तह थप्ने सहमति भएको छ’ राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले नेपाली हेडलाइन्ससँग भने, ‘यी जिल्लामा कति कति स्थानीय तह थप्ने निर्णय भने अब राजनीतिक दलबीच सहमति जुटाएर गरिन्छ ।’ मन्त्रिपरिषद्ले योभन्दा अघि ११ जिल्लामा मात्र स्थानीय तहको संख्या थप्ने परिपत्र गरेको थियो । तर, मधेसी मोर्चामा आवद्ध दलहरु असन्तुष्ट हुँदै निर्वाचनमा भाग नै नलिने अडान राखेपछि प्रधानमन्त्री प्रचण्ड थप जिल्लामा पनि स्थानीय तहको संख्या बढाउन तयार भएका हुन् ।

संविधान संसोधन गरी स्थानीय तहको संख्या थप्नेसहितका विषयमा सरकारले प्रतिवद्धता जनाएपछि मधेसी मोर्चा चुनावमा आउँन सहमत भएको हो ।

मोर्चा आउने भएपछि सरकारले ३१ वैशाखसहित ३१ जेठका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । यस अन्तर्गत पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३,४ र ६ मा हुनेछ । ३१ जेठमा १,२, ५ र ७ प्रदेशमा निर्वाचन गर्ने कार्यतालिका छ । अब दोस्रो चरणमा तराई मधेसका १९ वटै जिल्लामा स्थानीय तह थपेर मात्र निर्वाचन हुन लागेको हो ।