९ असोज, काठमाडौं ।

संविधानसभाबाट संविधान जारी भएको एक सातामै एमाओवादीका नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेर नेपाली राजनीतिमा तरंग ल्याएका छन् । अन्तिम समयमा आएर संविधान जारी गर्ने प्रक्रियामा असहमत देखिएका बाबुरामले संविधान जारी भएको एक सातामै पार्टी छोड्लान भन्ने अनुमान धेरैले गरेका थिएनन् । तर उनका सहयोगीहरुले भने बाबुरामले केही दिनमा नयाँ शक्तिको बारेमा घोषणा गर्ने संकेत दिइसकेका थिए । धेरैको अडकलबाजी र अनुमानलाई अन्त्य गर्दै डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग देखिएको छ । काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी छोड्ने जानकारी गराएका भनिएका बाबुरामले संसदबाट समेत राजिनामाको घोषणा गरे ।

भिडियो हेर्नुस्

 

भिडियो सौजन्यः एभिन्यूज टिभी यूट्यूव

पृष्ठभूमि

डा बाबुराम भट्टराई यस्ता ब्यक्तित्व हुन् जो ३९ बुँदे माग शेरबहादुर देउवालाई बुझाएर जनयुद्धमा गए, १० वर्षे जनयुद्धमा अनेक उतार चढाव ब्यहोरेर शान्ति पूर्ण प्रक्रियामा पार्टीलाई अवतरण गराउन महत्वपूर्ण भूमिका खेले । संविधानसभाको चुनावमा देशमै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी मात्र भएनन् त्यही संविधानसभाबाट गणतन्त्र नेपालको प्रथम सरकारमा अर्थमन्त्री र गणतन्त्र स्थापनापछिको चौथो प्रधानमन्त्री पनि बने । तर जनयुद्ध देखि नै हाइ हाइ पाउने बाबुरामले अर्थमन्त्री हुँदा जस्तो हाइ हाइ प्रधानमन्त्री हुँदा पाएनन् ।

baburam bhattarai last

एमाओवादी छोडेर शनिबार देखि नागरिक बनेको घोषणा गरेका डा बाबुराम भट्टराइ संविधानसभाबाट संविधान जारी गर्नका लागि सबैभन्दा बढि खटिएका नेता हुन् । संविधानको महत्वपूर्ण राजनीतिक संवाद तथा सहमति समितिमा बसेर अधिकाँश असन्तुष्टी र विवाद मिलाउन उनले महत्वपूर्ण भूमिका निर्भाह गरे । उनी शुरु देखि नै यस पटक संविधान जारी गरेरै छोड्नु पर्छ भनेर लाग्ने एमाओवादीका एक मात्र नेता पनि हुन् । अध्यक्ष प्रचण्ड आक्रामक हुँदा पनि बाबुरामले संविधान जारी गर्नै पर्नेमा जोड दिइरहेका थिए ।

आफू प्रधानमन्त्री भएको समयमा पहिलो संविधानसभा विघटन भएर दोश्रो संविधानसभाबाट संविधान पारित हुने स्थिति आउँदासम्म तिनै आशावादी बाबुराम निराश देखिएका थिए । संविधान जारी हुने समयमा मधेश लगायत विभिन्न भागमा देखिएका असन्तुष्टीलाइ सम्बोधन गर्नु पर्ने उनको मागलाई आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नसुनेपछि उनी निराश बनेको देखियो । सँधै राजनीतिक सहमतिका जानकारी र अन्य कुराहरुमा उत्साहजनक फेसबुक स्ट्याटस राख्ने एमाओवादी बाबुराम भट्टराईले संविधानसभाबाट संविधान पारित भएपछि भने कुनै उत्साह देखाएनन् ।

दीपावली गर्ने बेला भएको छैन’
संविधानमा पारित गर्दा देखि हस्ताक्षर गर्ने समयमा पनि शीर्ष नेताहरुसँग नदेखिएका बाबुराम अध्यक्ष प्रचण्ड सहितका नेताले विशेष पत्रकार सम्मेलन गरिरहँदा शनिबार काभ्रे पुगेर धुर्मुस सुन्तलीले बनाएको भूकम्प पीडितको नयाँ बस्ति अवलोकन गर्दै थिए । उनले त्यहाँ भनेका थिए- यो संविधानको सबैले स्वामित्व ग्रहण गर्नुपर्छ, म यसबाट सन्तुष्ट छु । मेरो एउटै मात्र आग्रह के हो भने हाम्रा सबै क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरुलाई पनि समेटेर लानुपर्छ । उहाँहरुको पनि संविधानमा स्वामित्व भएन भने भोलि विग्रहको विऊ रोपिन सक्छ । यो बारेमा चाहिँ मैलै अझै पनि सतर्क गराउन चाहन्छु ।’

Dhurmus-Suntali Basti Abalokan Baburam Bhattarai (4)

काभ्रेबाट फर्किएका बाबुरामले संविधान जारी हुने दिन झनै निराशाजनक स्टेटस प्रकाशित गर्दै ‘नेपालमा देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?’ भनेर स्टेटससहित तस्विर राखे । संविधान जारी हुनै लागेको समयमा आफूलाई काजी भीम मल्लसँग तुलना गर्दै बाबुरामले गरेको प्रश्नले वर्तमान प्रक्रियामा उनलाई कुन हद सम्म हिनताबोध गराइएको छ भन्ने पनि प्रष्ट मात्र भएको छैन उनले अव कुन बाटो लिनेछन् भन्ने प्रश्न जन्मिसकेको थियो ।

baburam status

बाबुरामले काभ्रेमै भनेका थिए – ‘इतिहासमा पनि काजी भीम मल्लदेखि लिएर भीमसेन थापा, बहादुर शाहदेखि लिएर जसले देशको निम्ति काम गरे तिनको बदनाम गरेर भौतिक ढंगले नै सफाया गर्ने हाम्रो प्रचलन नै हो । अलि सही विचार ल्याउँछ, दूरदर्शीपूर्ण कुरा राख्छ भने त्यसमा आहारिस र डाहा गर्ने र त्यसलाई वैचारिक ढंगले नसकेपछि मनगढन्ते फत्तुर लगाएर जनतामा भ्रम छर्ने काजी भीम मल्लदेखिको नै रोग हो । त्यसबाट मुक्त हुन नसक्नु हाम्रो राजनीतिक क्षेत्र र जनताको निम्ति बडो दूर्भाग्यको कुरा भएको छ ।’

बाबुरामको प्रश्नः देशभक्तको नियति काजी भीम मल्लकै जस्तो भइरहने हो त ?

राष्ट्रवादको बारेमा बाबुरामको डाइलग

आफूलाई भारतपरस्त भनिने गरेको परिप्रेक्ष्यमा बाबुरामले पार्टी छोड्ने क्रममा कडा जवाफ दिएका छन् । बाबुरामले प्रचण्डले केही दिन अघि सैनिक मञ्चबाट गरेको भाषणमा भारतलाई लक्षित गर्दै गरेको भाषणमा बोलेका कुरालाई जवाफ दिने हिसावले कुरा गरे । बाबुरामले आफू दुरदृष्टि राखेर मात्र राष्ट्रवादी हुन चाहेको छनक दिँदै उनले भने टुकी र राष्ट्रवादको राष्ट्रवाद होइन देशमा विजुलीबाट चल्ने गाडीको कल्पना गर्ने राष्ट्रवाद मात्र दिगो हुन सक्छ ।

भारतसँग कुनै हालतमा झुक्दैनौं – प्रचण्ड

भारतले नाकाबन्दी लगाए साइकल चढ्न तयार रहेको भन्दै प्रचण्डले दिएको चुनौतीलाई उनले उग्रबाद राष्ट्रवादको सज्ञा दिँदै बैज्ञानिक राष्ट्रबादले साइकल र टुकीको राष्ट्रवाद नभएर विद्युतबाट चल्ने सवारीको कल्पना गर्नु पर्ने बताए । उनले भारतीय हैकमबाद र नेपाली शासकको रवैया दुवै गलत भएको भनेर आफू भारत परस्त नभएको छनक दिएका छन् । उनले आफूले विसुद्ध राजनीतिक भन्दा पनि विकाश र आर्थिक दृष्टिले पनि सोंचेर राष्ट्रवादलाई हेर्ने गरेको पनि उनको यो संकेत हो ।

खुकुरी र चक्कु 

पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको बताए । ‘अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन’, उनले भने,’केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।’ सँधै रहस्यमयी नेताकोरुपमा रहेका बाबुरामले पार्टी परित्याग गर्दा पनि रहस्यमै छोडेका छन् । बाबुरामको यो घोषणाले सँधै द्वन्द र सहकार्यमा रहेका प्रचण्ड-बाबुरामबीचको ३ दशक लामो सहयात्रा पनि टुंगिएको छ ।

Dr Baburam Bhattarai mic

बाबुरामले पार्टीलाई साध्य नभएर साधन भन्दै आफूले पार्टी छोड्नु कुनै ठूलो कुरा नभएको बताए । आफूले इतिहासको एक मोडलमा एमाओवादी निर्माण गर्न लागेको तर नयाँ युगमा नयाँ युग चाहिने भन्दै साना कुरा काट्न चक्कु र ठूला काट्न खुकुरी चाहिने उदाहरण उनले दिएका छन् । बाबुरामको पार्टी परित्यागले एमाओवादीका कुन स्तर सम्मको असर देखिने छ र पार्टीमा कस्तो तरंग आउने छ त्यो हेर्न बाँकी छ । पार्टीलाई अघि बढाउन प्रचण्डसँग जोडिँदा गुणात्मक उर्जा दिने बाबुरामले साथ छोड्दा प्रचण्डलाई पनि गम्भिर झट्का लागेको छ । जनयुद्ध देखि नै धेरै मध्यमवर्गलाई आकर्षित गरेका नेता बाबुराम भट्टराइको बौद्धिकता एमाओवादीलाई निक्कै खड्किने भने निश्चित छ ।