२० माघ, काठमाडौं । स्थानीय तहको चुनाव घोषणाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला दोहोरो चेपुवामा छन् ।

चुनावको मिति नतोकौं एकातिर सरकारमा टिकिरहन गाह्रो छ भने अर्काे तिर संविधानमा उल्लेख समयसीमा दिनप्रतिदिन घर्कँदो छ । घोषणा गरौं त मधेशी मोर्चाले पटक पटक संविधान संसोधन अघि नबढेसम्म चुनावको मिति घोषणा नगर्न दबाब दिँदै आएका छन् ।

फाइल तस्वीर

मधेशी मोर्चासँगको तीन बुँदे सहमतिको जगमा प्रधानमन्त्री बनेका प्रचण्ड उनीहको माग सम्बोधन नगरी चुनावमा जान नसकिने निश्कर्षमा पुगेपनि सत्ता साझेदार काँग्रेस र आफ्नै पार्टी नेकपा माओवादी भित्र पनि चुनावमा जानुपर्ने दबाब बढ्दो छ । त्यसैले उनी आज औपचारिक रुपमा चुनावको घोषणा गर्ने तयारीमा छन् ।

पत्राचारको रणनीति

आज बस्ने मन्त्रीपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने भनिएपनि प्रधानमन्त्री प्रचण्डले ठ्याक्कै यति गते भनेर चुनावको मिति तोक्नेछैनन् ।

ओलीलाई फेरि भारतले नै प्रधानमन्त्री बनाउन सक्ने

उनले बैशाख मसान्त देखि जेठको दोस्रो हप्तासम्म सक्नेगरी चुनावको तयारीमा लाग्न निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिने तयारी गरिएको छ ।

यसो गर्दा प्रतिपक्षी पनि खुशी हुने र मधेशी मोर्चा पनि नचिढिने उनको अपेक्षा छ । सरकारले औपचारिक आग्रह गरेपछि निर्वाचन आयोगलाई चुनावको तयारी गर्न बाटो खुल्नेछ ।

मोर्चा ढुक्क

चुनाव घोषणाको विरोध गर्दै आएका मधेशी मोर्चा प्रधानमन्त्रीले चुनावको मिति तोक्न नसक्नेमा ढुक्क छन् । ‘सरकारले बैशाख वा जेठ भित्र चुनाव गर्नका लागि तयारी रहन निर्वाचन आयोगलाई निर्देशन दिन र पत्र पठाउन सक्ला, सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने, यस्तो निर्देशन प्रधानमन्त्रीले यसअघि पटक पटक दिँदै आउनुभएको हो, ठ्याक्कै यति गते भनेर मिति तोक्ने तागत उहाँसँग छैन ।’

मिति नै घोषणा भए मोर्चासँग आन्दोलनबाहेक अरु कुनै विकल्प नहुने पनि सुमनले बताए ।