२५ माघ, काठमाडौं ।

स्थानीय निर्वाचनको मिति घोषणामा ढिलाइसँगै प्रमुख तीन दलबीच १६ दिनयता औपचारिक संवाद ठप्प भएको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेबीच औपचारिक संवाद ठप्प भएको हो ।

८ माघमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीनदलीय शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसँग सम्बन्धित कानुन पारित गरेर १५ माघभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाएका थिए । सरकारले निर्वाचन आयोगलाई चुनावी तयारी गर्न औपचारिक पत्र पठाए पनि चुनावी मितिमा अन्योल छ । सरकारले भने मधेसी मोर्चालाई मनाएर संविधान संशोधन गरेपछि मात्रै मिति घोषणा गर्ने नीति लिएको छ ।

फाइल तस्बिर

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधन प्रस्तावलाई मतदान प्रक्रियामा लैजाँदा पारित नभए पनि चुनावमा भाग लिने मधेसी मोर्चाले प्रतिबद्धता जनाएकाले मिति घोषणामा ढिलाइ भएको बताए । ‘पछिल्लो वार्तामा महन्थ ठाकुरले संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाँदा पास–फेल जे भए पनि चुनावमा भाग लिने प्रतिबद्धता जनाएकाले मिति घोषणाका लागि केही समय धैर्य गरिएको हो,’ गजुरेलले भने, ‘बीचको समयमा स्थानीय तहको पुनर्संरचनामा २ नम्बर प्रदेशको विवाद हल गरेर संशोधन टुंग्याउने गरी सहमतिको दिशामा अघि बढ्ने संकेतकै कारण नयाँ शिराबाट छलफल गर्न समय लिइएको हो ।’

वामदेव गौतम, उपाध्यक्ष एमाले
प्रधानमन्त्रीसँग अहिलेसम्म अनौपचारिक या सम्पर्क सूत्रमार्फत कुराकानी भएको छैन । उहाँले लामो समयदेखि मलाई सम्पर्क गर्नुभएकै छैन । सरकारले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि हामीले स्वागत गर्‍यौँ । तर, त्यो त जनता झुक्याउने पत्राचार रहेछ । प्रधानमन्त्री र देउवाजीको पछिल्लो अभिव्यक्तिले उहाँहरूले निर्वाचन चाहिरहनुभएको छैन भन्ने प्रस्ट भयो । त्यसबाट उहाँहरू देशविरुद्धको गम्भीर षड्यन्त्रको सिकार भइरहनुभएको छ या त्यो षड्यन्त्रको सिकारमा आफैँ संलग्न भइरहनुभएको छ ।

अनौपचारिक संवादमा देउवा–ओली
औपचारिक संवाद टुटे पनि निर्वाचन र संविधान संशोधनका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर अनौपचारिक कुराकानी भइरहेको छ । पछिल्लोपटक ओलीले चुनाव गरेर संविधान कार्यान्वयन गर्ने सर्तमा देउवालाई सरकारको नेतृत्व दिन सकिनेसम्मको ‘अफर’ गरेका छन् । ‘हामीलाई सत्ताको हतारो छैन, चुनावमा प्रचण्डसँग होइन, तपाईंहरूसँगै टसल हुने हो, तर पनि चुनाव गरेर संविधान कार्यान्वयन गर्ने हो भने तपाईंले सरकारको नेतृत्व गर्दा पनि फरक पर्दैन,’ पछिल्लो संवादमा देउवासँग ओलीले भनेका थिए । आजको नयाँ पत्रिकामा खबर छ