बोमलाल गिरी
बगैचामा रोपेका फूलहरु केही हुर्कन नपाउँदै मर्छन् । केही फक्रन्छन्, फूल्छन्, झर्छन त कोही अजम्बरी जस्तै पनि देखिन्छन् । यदि हाम्रो सुन्दर जीवनलाई फूलसँगै तुलना गर्ने हो भने जीवन यात्राको क्रममा धेरै मान्छे भेटिन्छन् । मेरो जीवनको मोडमा पनि यति धेरै साथीहरु भेटिए, कोहीसँगको सम्बन्ध क्षणभरमै टुट्यो । कोहीको बीचमा केही दुरी रह्यो । कोही निक्कै घनिष्ट भए र छन् पनि ।

स्कुले जीवन, कलेज जीवन, काम गर्ने थलो आदि त्यस्तै मोडहरु हुन् । ती मोडहरुमा धेरै भेटिन्छन् धेरै छोडिन्छन् पनि । त्यो नौलो कुरा भएन । तर कोहीसँगको सम्बन्ध सायद भाग्यले नै जुराएको हुँदोरहेछ । त्यस्तै यात्रामा भेटिएको एउटा साथीको नाम हो हिम विष्ट ।

Bomlal Him (1)
२०६४ सालको माघ महिनामा एम ए पढ्दै गर्दा यो प्यूठानीसँग रोल्पाली विष्टको भेट भयो । यात्राकै मोडमा भेटिएका केही साथीलाई सदाका लागि गुमाउनु पर्दा आखाँ रसाउँछन् । निमेष बन्जाडे, दीपेन्द्र कुँवर, रोशन पुरी, सरोज गौतम, मधुसुदन रायमाझी, बबिन शर्मा, मुना चौलागाँई, रश्मि रानाभाट लगायत थुप्रै साथीलाई घनिष्ठताको सूचिमा राख्न सक्छु । तर समयको बेगसँगै बग्दाबग्दै केही घनिष्ट साथीहरुलाई बीचमै छोडनु पर्दो रहेछ । ती साथीहरुले चौपारीमा मलाई कुरेर बसिरहेका छन् । मेरो यात्रा त्यहाँबाट अघि बढिरहेको छ । र पनि छिट्टै चौपारीमा पर्खेका साथीहरुलाई भेट्नुछ ।

Bomlal Him (2)
मुटुको एउटा कुरामा रहेका ती धेरै घनिष्ठ साथीलाई भौगोलिक दुरीका हिसावले धेरै टाढाँ छोडेर हिम विष्टसँगको मेरो यात्राले निक्कै अनौठो तरिकाले निरन्तर पाइरह्यो । हुनत कतिपयका बाल्यकालदेखिका साथीहरुकै यात्रा निरन्तर होला तर हिमसँग मेरा केही यस्ता अनौठा संयोगहरु भए । जसले यो स्मरण लेख्न प्रेरणा मिलिरहेको छ ।

दुई वर्षको पढाई सँगै भयो । मेरो उज्यालो नाइन्टी नेटवर्कको ७ वर्षे यात्रामा ६ वर्षभन्दा बढी समय संगै हिडियो । दुबैको बिट संविधानसभा भएकाले रिपोटिङमा पनि प्राय संगै नै भइन्थ्यो । संविधान यात्रामा, तालिम लिन, दिन र कार्यक्रम चलाउन जति जिल्लामा पुग्यौं, सँगै रह्यौं । उज्यालोमा रहँदा अरु धेरै साथीहरुसँग सामिप्यता रहयो तर हामी दुई नै बढी समय संगै रह्यौं ।

Bomlal Him (3)

२०७१ साल असार ३० गते उज्यालोबाट एकै दिन बाहिरियौं । एकै दिन रेडियो मैत्रीको रेडियो न्यूज नेटवर्क मार्फत फेरी श्रोता माझ पुग्यौं । त्यो यात्रा झण्डै एक वर्ष रहयो र त्यहाँबाट पनि २०७३ साल माघ ३ गते एकै चोटि बाहिरियौं ।

त्यति मात्र कहाँ हो र ? एउटै महिनामा उसको दाङबाट र मेरो चितवनबाट बिवाह भयो । अचम्मको कुरा त एउटै (पाटन) अस्पतालमा एकै दिन दुबैको छोरा जन्मिए । यो कस्तो संयोग ! उसको तीन जनाको परिवार दुई तिर छ । मेरो तीन जनाको परिवार तीन तिर । हिसाव नै गर्ने हो भने सायद हामीले हाम्रो परिवारसँग भन्दा बढी समय हामी दुईले सँगै रहेर बिताएका छौं ।

Bomlal Him (4)

दुई पटकको युरोप यात्रामा पनि हामी संगै रह्यौं । दुबैले दुई ठाउँमा एकै दिन जागिर पायौं । दुबैका मालिक पनि चाइनिज । कामको प्रकृति उस्तै । तलव पनि समान । अहिले हामी दुबै युरोपको एउटै देशमा छौं । एउटै कोठामा धेरै दिन बितायौं । हामी दुई जव सँगै हुन्थ्यौं सधै एक अर्काको भरोसाको पात्र भयौं । परिवार, आफन्त र साथीसंगीबाट टाढा भएर विदेशमा बस्दाको पीडादायी क्षण केही कम गराउँथ्यो हामी दुईको सामिप्यताले ।
तर आज हामी विछोडिएका छौं, रहरले होइन बाध्यताले । हामी युरोपको रमझममा हराएका होइनौं, बिछोडिएका हौं । तर परदेशीको आवाज सहित तपाईको रेडियो सेट मार्फत हामी दुबै छिट्टै तपाईलाई भेट्न आउनेछौं । प्रतिक्षा गर्नु होला !