हेमन्त गिरी

२५ बैशाख, कोरिया

पाँच बूँदे सोल घोषणा पत्र जारी गर्दै दक्षिण कोरियाको राजधानी सोलमा ‘प्रथम एसियाली नेपाली साहित्य सम्मेलन’ सम्पन्न भएको छ ।

अनेसास कोरिया च्याप्टरको आयोजनामा बैशाख २३ र २४ मा सम्पन्न उक्त सम्मेलनले प्रकाश पौडेल माइलाको अध्यक्षतामा अनेसास एसिया समिति गठन गरेको छ ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, जापान, हंकङ, नेपाल, सिक्किम, कोरिया लगायत मुलुकका साहित्यिक स्रष्टा, सर्जक तथा भाषाविदहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो दिनको सत्रमा आमन्त्रित अथिति तथा विज्ञहरुबाट विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अनेसास उपाध्यक्ष भीमसेन सापकोटाले सकात्मक सोंच र नेपाली साहित्यमा यसको आवश्यकता, भयवादका प्रवर्तक हंगकंगका देश सुब्बाले नेपाली साहित्यमा भयवाद, अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष प्रा.डा. पुष्पा शर्माले भारतमा नेपाली साहित्यको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै त्रीभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेलले मानक नेपाली भाषा, चुनौती र हालसम्मका कार्यप्रगतिका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

प्रा.डा. लुईटेलको प्रमुख आतिथ्य तथा अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरियाको लागि कार्यवाहक किरण शाक्य, अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सहभागिता थियो ।

त्यस्तै जापान च्याप्टरका अध्यक्ष विष्णु घिमिरे, कोरिया च्याप्टरका अध्यक्ष क्रिस बाबु गुल्मेली लगायत विभिन्न एसियाली मुलुक तथा कोरियामा रहेर कलम चलाउने सयन्दा बढी सर्जकको सहभागिता रहेको थियो ।

दोश्रो दिनको सत्रमा सहभागीहरुले आफ्ना विभिन्न साहित्यिक सृजनाहरु प्रस्तुत गरेका थिए ।