२९ भदौ, काठमाडौं ।
प्रदेश नं. २ मा २ असोजमा हुने स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार ३० र ३१ भदौमा मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गर्नेछ । साथै, १ असोजमा नमुना मतदान पनि गराउने तयारी आयोगले गरेको छ र त्यसक्रममा मतदातालाई सक्कली मतपत्र पनि देखाइनेछ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण निर्वाचनका सामग्रीसहित २९ भदौ बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसक्नेछन् । आयोगले सो प्रदेशका दुई हजार एक सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

जनकपुरमा हेलिकोप्टर ‘स्ट्यान्डबाई’
निर्वाचनका क्रममा कतै समस्या भएमा थप सुरक्षाकर्मी ओसार्न जनकपुरमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने योजना छ । कुनै स्थानबाट मतपेटिका ओसार्न पनि हेलिकोप्टर प्रयोग गर्न सकिने सेनाले जनाएको छ । आठ जिल्लाका एक सय ३६ स्थानीय तहको सुरक्षा व्यवस्था सहज रहेको निर्वाचन आयोगको भनाइ छ । प्रदेश नं. २ को निर्वाचनमा करिब ६० हजार सुरक्षाकर्मी खटिनेछन् । जसमध्ये निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी हुनेछ । आठ जिल्लामा पहिलेदेखि नै करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १८ हजार थप गरिएको छ । त्यस्तै, १७ हजार सेना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले बताए । सैनिक चुनावी सुरक्षामा खटिन थालिसकेको उनको भनाइ छ । त्यस्तै, १५ हजार तीन सय ५० सशस्त्र प्रहरी खटिएका छन् ।

मतदान सकिएलगत्तै मतगणना
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी आयोगले गरेको छ । २ असोजको साँझबाटै मतगणना सुरु गर्न लागेको आयोगको भनाइ छ । बजारक्षेत्रका स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सहजै आइपुग्ने भएकाले मतगणना सोही दिन बेलुका सुरु गर्न आयोगले निर्देशन दिइसकेको छ ।