८ मंसिर, पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट पुर्वका दुई क्षेत्रमा दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुँदैछ ।

हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका पोल्डेन छेपाङ गुरुङका बीच सिधा प्रतिस्पर्धा हुँदैछ । मनाङका ४ वटा स्थानिय तहमा नेपाली काँग्रेसबाट धेरै जनप्रतिनिधि सभाहरु निर्वाचित भएकोले मात्र नभई विगतमा पनि टेकबहादुर र पाल्टेन गुरुङ जस्ता काँग्रेस नेताहरुले विजय प्राप्त गर्दैै आएको जिल्ला भएकोले पनि प्रतिनिधि सभासभामा काँग्रेसले नै जित्ने अनुमान धेरैको छ ।

५ हजार ८ सय ८१ मतदाता रहेको मनाङमा नासुङ र चामेमा काँग्रेसको प्रभाव बढि मानिन्छ । यसै क्षेत्रका चिन्ता घले नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा ‘क’का उम्मेदवार हुन । उनको प्रतिस्पर्धा नेकपा एमालेकै दोर्ज डेडुल शेर्पासँग हुँदैछ । प्रदेश ‘ख’मा नेपाली काँग्रेसको तर्फबाट कर्मा गुरुङ र नेकपा एमालेको समर्थन पाएका राजिव गुरुङ अर्थात दीपक मनाङेका बीचमा हुने प्रतिस्पर्धा हुँदैछ ।

यसैगरि प्रतिनिधिसभामा १ सीट रहेको लमजुङमा नेपाली काँग्रेसका दिलबहादुर घर्तीसँग बामगठबन्धनबाट उठेका नेकपा माओबादी (केन्द्र)का देवप्रसाद गुरुङको प्रतिस्पर्धा हुँदैछ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट देवेन्द्र पराजुली पनि लमजुङमा उम्मेदवार उठेका छन । पराजुली विगतमा माओबादीको जिल्ला सचिव समेत रहेर काम गरिसकेकोले माओबादीका मत काट्न सक्नेछन् ।

लमजुङको प्रदेशसभा ‘क’मा काँग्रेसको गर्जबहादुर गुरुङ र एमालेका धनञ्जय दवाडीबीच मूख्य प्रतिस्पर्धा हुँदैछ ।  प्रदेश ‘ख’मा पनि काँग्रेसका कृष्णप्रसाद कोईराला र नेकपा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई बाम गठबन्धनले साझा उम्मेदवार बनाएका छन । लमजुङमा कुल १ लाख १५ हजार ४ सय ५४ मतदाता रहेका छन् ।

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभासभाको लागि ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । काँग्रेसका चिनकाजी श्रेष्ठ र माओबादी केन्द्रका हरिराज अधिकारीबीच मूख्य प्रतिस्पर्धा रहेको छ ।

क्षेत्र नम्बर २ बाट भने नेपाली काँग्रेसले नयाँ शक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समर्थन गरेको छ । यसै क्षेत्रबाट एमाले र माओबादीका साझा उम्मेदवारको रुपमा माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् ।

गोरखाको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा क मा नेपाली काँग्रेसका धिरम थापा र माओबादी केन्द्रका लेखबहादुर थापाका बीचमा मूख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरि प्रदेशसभा ख मा  राजेन्द्र बजगाँई र बामगठबन्धनका उम्मेदवार एमालेका रामशरण बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा क मा काँग्रेसले नयाँशक्तिका हरिशरण आचार्यलाई समर्थन गरेको छ । त्यहाँ नेकपा माओबादी केन्द्रबाट वाम गठबन्धनका साझा उम्मेदवार कमला नहर्कीसहित ७ जना चुनावी मैदानमा छन् । गोरखामा कुल १ लाख ८९ हजार ४ सय ४८ मतदाता छन् ।

 बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा काँग्रेस नेतृ चम्पादेवी खड्का र नेकपा एमालेका सूर्यप्रकाश पाठकबीच मूख्य प्रतिस्पर्धा हुँदैछ । महिला नेतृ र वर्तमान सरकारमा राज्यमन्त्री समेत भएकोले खड्काको पक्षमा मतदाता बढी हुन सक्छन् ।

क्षेत्र नम्बर २ मा पनि काँग्रेसका नरबहादुर पुन ‘निरज’को प्रतिस्पर्धा मुख्य गरेर नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेलसँग हुने देखिन्छ । पौडेललाई वाम गठबन्धनको समर्थन भएकोले पुनको जित सहज छैन ।

बागलुङमा १ लाख ६८ हजार २ सय ८२ मतदाता रहेको बागलुङको क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा ‘क’मा काँग्रेसका दीपेन्द्रबहादुर थापा र वामगठबन्धनका उम्मेदवार एमालेका ईन्द्रलाल सापकोटाबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । थापा बागलुङ काँग्रेसको सभापति समेत हुन ।

प्रदेशसभा ‘ख’मा काँग्रेसका प्रकाश शर्मा पौडेलसँगै राष्ट्रिय जनमोर्चाको कृष्ण थापा र नयाँ शक्ति पार्टीको युनिश मियाँ गरि तीन जनामात्र चुनावी मैदानमा छन् । विगतदेखि नै राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र मानिएको र अहिले वाम गठबन्धनसँग  सहकार्य गरेको हुँदा थापाको जित सहज हुन सक्ने बताइन्छ ।

बागलुङकै क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा क मा पनि ३ जना उम्मेदवार मात्र मैदानमा छन् । काँग्रेसका मञ्जेसबम मल्ल र नेकपा माओबादीका नेता चन्द्रबहादुर बुढा सँगै संघीय समाजबादीबाट वीरबहादुर दर्जी चुनावी मैदानमा  रहेका छन ।

प्रदेशसभा ख मा काँग्रेसका जीतबहादुर शेरचनसँग प्रतिस्पर्धा गर्न वामगठबन्धनले राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीलाई अगाडि सारेको छ ।

म्याग्दी जिल्लामा २०७० सालको निर्वाचनपछि काँग्रेसले आफ्नो संगठन मजबुत बनाउँदै लगेकोले गत स्थानिय तहको निर्वाचनमा ६ वटा मध्ये ४ वटा स्थानिय तहमा काँग्रेसले विजय प्राप्त गरेको थियो ।

७५ हजार ३ सय ५८ मतदाता रहेको म्याग्दीमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा र नेकपा एमालेका भूपेन्द्रबहादुर थापाबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेशसभा क मा काँग्रेसले राप्रपाका भीमप्रसाद गौचनलाई समर्थन गरेकोले गौचन र माओबादी केन्द्रका बिनोद केसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा ख मा अमला फगामी पुनलाई काँग्रेसले अगाडि सारेको छ ।

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा यो  निर्वाचनमा काँग्रेसको पल्ला भारी हुने देखिएको छ । काँग्रेसका रोमी गौचन पूर्व मन्त्री समेत रहेको र बौद्धिक व्यक्तित्व समेत हुन।

प्रदेशसभातर्फ क मा नेपाली एमालेका इन्द्रधारा विष्ट र नेपाली काँग्रेसका मिक्युर गुरुङ तथा प्रदेश सभा ख मा काँग्रेसका छिरिङ धावा गुरुङ, एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रिकका प्रविणकुमार शेरचन चुनावी मैदानमा छन ।

मुस्ताङमा कुल ५ हजार ८ सय ८१ मतदाता छन् ।