६ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अब छिट्टै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

३५ औं बिपी स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन भइसकेकाले सरकार अब मिति घोषणा र निर्वाचनसँग सम्बन्धित कानून बनाउन केन्दीत हुने बताए ।

उनले समयको चाप रहेपनि माघ ७ गतेअगावै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरेर देखाउने दाबी गरे । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको निर्वाचनबाट कांग्रेसले अघिल्लो चरणमा व्यहोरेको हारको पूर्ति गर्ने दाबी पनि गरे ।

उनले पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्र्तघातका कारण पार्टीले दोस्रो स्थानमा सीमित हुनुपरेको भन्दै तेस्रो चरणको निर्वाचनमा अन्र्तघातको स्थिति आउन नदिने बताए । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अघिल्ला निर्वाचनमा अन्र्तघात गरेर पार्टीका उम्मेद्वारलाई पराजित गर्न भूमिका खेल्ने सबैलाई कारवाही गर्ने पनि बताए ।

देउवाले पार्टीभित्र कमजोरी रहेको स्वीकार गर्दै ती कमजोरी सच्चाउन आफू तयार रहेको बताए । उनले पार्टीभित्रका कमजोरीका विषयमा प्रचारबाजी नगर्न पनि असन्तुष्ट पक्षसँग आग्रह गरे ।