१२ फागुन,काठमाडौ। प्रधानन्यायाधीशशलाई प्रधानमन्त्री बनाउन देखिएका कानुनी अड्चनका विषयमा समाधान खोज्न प्रमुखदलहरुबीच आज छलफल हुँदैछ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मेधसी मोर्चाका नेताहरुबीच आज प्रधानन्यायाधीशले राखेका प्रस्तावका विषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश खिलराज रेग्मीले आफु प्रधानमन्त्री बन्नुअघि संवैधानिक र कानुनी अडचन हटाएर भाषा र दलीय विवादमा सहमति खोज्न सर्त राखेका छन्। अहिले बिहान ९ बजेका लागि बोलाइएको बैठकमा यसअघि कार्यदलले गरेको ९ बुदे सहमतिलाई थप संसोधन गरि त्यसको भाषाका विषयमा पनि छलफल हुने बताइएको छ। बैठक सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बोलाइएको छ । विज्ञहरुको सल्लाहमा कार्यदलले नै आज केही प्रस्ताव ल्याउने छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन २० वटा कानुनी अड्चन हटाउने पर्ने देखिएकाले विज्ञहरुसँग परामर्श भइरहेको हो।