काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आफूले बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नआएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओली २०४८ सालदेखि सांसद भएपनि संसदीय अभ्यासलाई थाहा नपाएजस्तो गरेको बताए । संसारमा जहाँसुकै प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता आउनुपर्छ र विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री आउनैपर्छ, उनले अगाडि भने, तर यहाँ ओलीले जहिले पनि हेप्ने काम गरेका छन् । नेपालमा पहिलेदेखि चलिआएको चलनलाई ताड्ने काम गरिएको छ ।

देउवाले संसद छलेर गुठी विधेयक फिर्ता लिइएको भन्दै आपत्ति पनि जनाए । संसद चलिरहँदा मन्त्रीले बाहिरबाटै विधेयक फिर्ता लिनु संसदीय प्रणाली विपरित भएको उनको टिप्पणी थियो । तर विधेयक फिर्ता हुनुलाई भने आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको देउवाको भनाई छ ।

उनले मिडिया काउन्सील विधेयक, सूचना तथा प्रविधि विधेयक,राष्ट्रिय मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक प्रजतन्त्र विरोधी रहेको भन्दै सबै विधेयक फिर्ता हुनुपर्ने माग गरे । विधेयकहरु जवर्जस्ती अघि बढाउन खोजिए अझ सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए । मंगलबार संसदमा पहिला प्रधानमन्त्रीलाई बोल्न दिइएकोप्रति देउवाले आक्रोश पनि पोखे । प्रधानमन्त्रीको युरोप भ्रमण खासै उपलब्धीमूलक नभएको उनको दाबी थियो ।