२८ साउन, काठमाडौं ।
शहरी विकास मन्त्री प्रभु साहले अविरल वर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न र अस्तव्यस्त बनेकाले तत्काल उद्धार राहतको काम थाल्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

अविरल बर्षाका कारण सडक, पुल जताततै बाढी पसेर घरहरु समेत भत्किएकाले तराई मधेसका जनताहरुको विचल्ली भएको उनले बताए । ‘बाढीका कारण रौतहट सर्लाही लगायत तराई मधेसका जनताको विचल्ली भएको छ’ मन्त्री साहले भने, ‘यस विषयमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु् ।’

रौतहट, सर्लाही लगायत तराई मधेसका जिल्लाहरुमा अविरल बर्षाका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । ‘जनताहरुको घर–घरमा बाढी पसेर खाद्य सामग्री र लत्ता कपडा भिजेका छन् भने प्रभावित क्षेत्रमा पानीनै पानी छ’ मन्त्री साहले भने, ‘जनताहरु डुवानमा भएकाले सरकारले उद्धारको कार्यलाई अगाडी बढाउन ढीला गर्नु हुदैन ।’

त्यसैले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाई रहेको थियो । मन्त्री साहले उद्दार र राहतको कार्यलाई तत्कालै अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन दिइसकेको बताए । उनले यस प्रकारको विपत्तिमा जनता–जनता, समुदाय–समुदाय समेतले एक अर्काको सहयोग गर्नुपर्ने बताए । उनले बाढी र डुवान पीडित जनतालाई अलपत्र हुन नदिने दृढता व्यक्त गरे ।