१६ भदौ, काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कने भएका छन् । उनी उपचार सकेर शुक्रबार स्वदेश फर्कने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य हाल सामान्य रहेको छ । उनी दोस्रो पटक भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ।

प्रधानमन्त्रीसँगै रहेका उनका निजी चिकित्सक डाक्टर दिलिप शर्माका अनुसार आज छैठौं चरणको प्रक्रिया सकिएको छ । बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुने शर्माले बताए । त्यसपछि ओली शुक्रबार स्वदेश फर्कनेछन् ।