३ कात्तिक, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

Lokman karki karki

संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पु-याएर प्रस्ताव अघि बढाइएको र अरु सांसदको हस्ताक्षर थपिने प्रमुख सचेतक ढकालले बताए ।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख विपक्षी दलका एमालेका सांसदको हस्ताक्षरमा महाअभियोगको प्रस्ताव अघि बढेको भनिए पनि माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले भने आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताए ।

उहाँले संसद्बाट आज मात्रै महाअभियोग प्रस्ताव सिफारिस समिति गठन भएको र भोलि संसद्को बैठकपछि सिफारिस समितिको बैठक बस्ने जानकारीसमेत दिए ।