१० पुस, काठमाडौं ।
नेकपा एमालेले पुस २२ गतेको जनप्रदर्शनका लागि सडक तताउनेदेखि फेसबुक र भाइबरसम्मलाई प्रयोग गर्ने निर्णय गरेको छ ।Kp oli speaking 195447117

एमालेले पुस २२ गते एमाले सहित नौ राजनीतिक दलहरुको आयोजनमा हुन लागेको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ । आज बसेको एमालेको बैठकले पुस २१ गते दस हजार मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको छ ।

एमालेले नेतृत्व गर्ने र्यालीमा नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी रहेनेछन् । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर ग्रुप बनाउने, प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने तयारी गरेको बताए ।

उनले पुस २० र २१ गते एसएमएस भाइरल चलाउने । प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने निर्णय गरेको बताए

एमालेले ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने भएको छ । पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने र सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने निर्णय पनि एमालेले गरेको छ ।

पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुनेछ । सभालाई नौ वटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।