७ साउन, काठमाडौं ।

नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।

११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दरबन्दी दुई वटा थप गर्ने सहमति भइसकेको छ। सहमति अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरेर गृहमन्त्रालयले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ। आजको नागरिकमा खबर छ ।

स्रोतकाअनुसार बढुवा सिफारिसमा छुटेका हेमन्तबहादुर पाल र मधुप्रसाद पुडासैनीलाई एआइजी बनाउन थप २ पद बढाउने तयारी गरिएको हो। पुडासैनी कांग्रेस काठमाडौं कोषाध्यक्ष विष्णु पुडासैनीका पारिवारिक सदस्य हुन्।

पुडासैनीलाई एआइजी बढुवामा छुटाएकोमा कांग्रेस नेता रामचन्द्र पौडेल रुष्ट भएपछि उनलाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पद बढाएर भए पनि बढुवा गराउने वचन दिएको स्रोतले बतायो।

सुदूरपश्चिम क्षेत्रका प्रहरी अधिकारीलाई एआइजी बनाउन ११ पद पुर्‍याउँदा पनि पाल छुटेपछि प्रधानमन्त्री देउवा पुनः पद थपेर उनलाई एआइजी बनाउने पक्षमा छन्। प्रहरीमा अहिले प्रहरी जवानदेखि महानिरीक्षकसम्म ११ तह कायम छ। गृहमन्त्रीले हबल्दार र असईको बीचमा वरिष्ठ हबल्दार तथा सई र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सईको पद बनाउने घोषणा गरे पनि नियमावली संशोधन नहुँदा कार्यान्वनमा आएको छैन। एआइजीमा २ पद थप्दा तल्लो तहसम्म २ पद बढ्नेछ भने रिक्त पदमा पुनः बढुवा निकाल्नुपर्नेछ।