१६ भदौ, उदयपुर । उदयपुरको साउने गाविसमा रहेको अस्थायी प्रहरी चौकी आक्रमण गर्न गएका एक प्रहरी जवान सहित चार युवालाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ घर भई अस्थायी प्रहरी चौकी लक्ष्मीपुर सप्तरीमा कार्यरत प्रहरी जवान समिन राई, त्रिनपा १ कै दिपक राई, वडा नम्बर २ का सन्दिप खतिवडा र सोही ठाउँका सरोज खड्का रहेका छन् ।

शनिबार राती सदरमुकाम गाईघाटबाट २ वटा मोटरसाईकल लिई उनीहरु चौकी आक्रमण गर्ने गरी साउने बजार गएको अनुसन्धाबाट खुल्न आएको प्रहरी प्रमुख एसपी अजय भट्टराईले बताए ।

दुई साता अघि पक्राउ गरी कारबाही चलाएको भन्दै दीपक राईको नेतृत्वमा प्रहरी जवान समिन सहित गएका ६ मध्ये ४ युवालाई पक्राउ गरिएको भट्टराईले जानकारी दिनुभयो । फरार दुईको खोजी कार्य भईरहेको बताइएको छ ।

दीपकसँगै घर विदामा आएका प्रहरी जवान समिनसहितको समूहले प्रहरी चौकीमा पुगेर सिधै आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले दीपकको समूहलाई सौर्य उर्जाको काम गर्न गएका कर्मचारीको मोटरसाईकल तोडफोडमा संलग्न भएको भन्दै पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाएको थियो ।

त्यसपछि दुबै समुहलाई राखी मिलापत्र गरी छोडेको प्रहरीले बताएको छ । त्यसैलाई आधारमानी रिस पोख्न युवाहरुले चौकी आक्रमण गरेको एसपी भट्टराईले बताए ।

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी आवश्यक कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।