१७ असोज, काठमाडौं ।

प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दारहेछ भन्ने बैतडी, देउलेख–४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरिदिए। प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनको घरमै पुगेर गोली हाने तर पेस्तोलले पनि उनलाई धोका दियो। लगत्तै खुकुरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ परे, युवतीको ज्यान जोगियो।

प्रहरीका अनुसार बिहीबार बेलुका बानेश्वर, आलोकनगरस्थित एक घरमा भएको नाटकीय घटना झन्डै गम्भीर अपराधमा परिणत भयो।

कार्की त्यस घरका सदस्यसँग पूर्वपरिचित थिए। उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै टि्रगर दबाए।

पेस्तोलको पिनले छोए पनि प्राविधिक समस्याले गोली चलेन। पेस्तोलले काम नगरेपछि उनी झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए।

कार्कीको व्यवहार देख्नासाथ घरपरिवारका सदस्यले प्रहरी कन्ट्रोलमा फोन गर्न भ्याएकाले खुकुरी हान्नुअघि नै नजिकै रहेको प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ त्यहाँ पुगेको थियो। त्यसैले उनले खुकुरी हान्न पाएनन्।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरीले कार्कीलाई कार्यालयमा ल्याएर उनीसँग रहेको झोला खोतल्दा कटुवा पेस्तोलसँगै चार राउन्ड गोली, खुकुरी, चक्कु, पेट्रोल भरिएको बोतल अनि नाइलनको डोरी फेला पर्यो । प्रहरीले केरकार गर्दा उनले ती सबै सामग्री युवतीको हत्याकै लागि बोकेको बताए।

महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका युवकमाथि प्रहरीले अवैध हतियार र हत्या प्रयास आरोपमा अनुसन्धान अघि बढाएको छ। आजको नागरिकमा खबर छ ।