-कुशल श्रेष्ठ

“विज्ञानको लागि यो ऐतिहासिक दिन हो!”

करिब ९.५ वर्षको समयपछि ४.८ बिलियन किलोमिटरको दुरी पार गरेर नासाको न्यू होराइजन्स अन्तरिक्षयानले प्लुटोको वरिपरि परिक्रमा गरेको छ। प्लुटोको सतहबाट करिब १२,४७२ किलोमिटरको उचाईमा, पृथ्वीको हिसाबले हेर्दा- न्यू योर्क देखि मुम्बईसम्मको दुरीमा अहिले नासाको अन्तरीक्षयान उडिरहेको छ। पृथ्वीबाट सबैभन्दा टाढा रहेको ग्रहमा पुगेर अनुसन्धान गर्ने यो पहिलो मिसन हो, र न्यू होराइजन्सले एक दशक बराबरको डाटालाई पृथ्वीसम्म पुर्याउनको लागि अझै १६ महिना लाग्ने अनुमान छ।

“करिब १५ वर्षको योजना, परियोजना र उडान पछि न्यू होराइजन्सको सहायताले हामी हाम्रो उद्देश्यमा पुग्न सफल भएका छौँ। यो घटना सारा मानवजातीको लागि अनि विशेष गरि विज्ञानको लागि नै महत्वपूर्ण घटना हुन गएको छ।”- एक प्रेस सम्मेलनमा यस योजनाको म्यानेजर ‘ग्लेन फाउन्टेन’ले भनेका छन्। “अहिले सम्मको मीहिनेतको फल अब हामीले चाख्न जाँदैछौँ, आशा छ मीठो नै हुनेछ।”

अब, न्यू होराइजन्सले जुन कामको लागि त्यहाँ पुगेको हो, त्यो काम त भइ नै रहन्छ, त्यतिबेला सम्म हामी यो ग्रहको अति उत्कृष्ट, मनमोहक र लोभलाग्दो तस्विर हेरेर चित्त बुझाउँन त!pluto-closeup_1024

जुलाई १३ मा अन्तरीक्षयानमा समावेश गरिएको टेलिस्कोपले करिब ७६८,००० किलोमिटरको दुरीबाट खिचेको तस्बिरमा प्लुटोको सतहमा एक चिल्लो र सम्म भाग देखिएको थियो। त्यस भागलाई ‘मुटु’ (The Heart) नाम दिइएको थियो, जुन चाहिँ करिब १६०० किलोमिटरको दुरीमा फैलिएको छ। उक्त भाग चिल्लो र सम्म किन भयो भन्ने त अझै नि खुल्न सकेको छैन तर वैज्ञानिकहरू भन्छन् कि जमीन भित्र भईरहेको घटनाको कारणले नै सतहमा यस्तो परिवर्तन भएको हुन सक्छ।

४८,२८० किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको न्यू होराइजन्स, जुन अझसम्मकै सबैभन्दा छिटो गतिमा उड्ने अन्तरीक्षयान हो, यसले प्लुटो र नजिकको उपग्रह ‘क्यारन’को विस्तृत जानकारी समावेश गरिएको तस्विर पठाएको छ।false-colour-pluto

नासाका वैज्ञानिकहरूले यस तस्विरमा बनावटी रङ्ग भरेका छन्, ताकी सतहमा भएका विभिन्न पदार्थ र व्यवहारलाई सजिलै छुट्याउन सकियोस्।

“यो तस्विरबाट प्रष्ट हुन्छ कि, प्लुटो र क्यारन दुवै जटिल किसिमका ग्रहहरू हुन्। त्यहाँ थुप्रै गतिविधीहरू भइरहेका छन् र के भइरहेको छ, त्यो पत्ता लगाउन हामी तत्पर छौँ।”, न्यू होराइजन्सका सह-अनुसन्धानकर्ता ‘विल ग्रण्डी’ भन्छन्- “यहाँ भएका अनुसन्धानकर्ताहरूले सकेसम्म छिटो गतिमा प्लुटोको सतहमा के भइरहेको छ भनेर पत्ता लगाउन कोसिस गरिरहेका छन्। चाँडै नै उक्त प्रक्रियाको बारेमा खुलासा हुनेछ।”

अझसम्ममा प्लुटोको बारेमा हामीलाई निम्न कुराहरू थाहा भएका छन्, हेर्न नछुटाउनुहोला-

# यसको उत्तरी ध्रुवमा मिथेन र नाइट्रोजन ग्यासको बरफ जमेको छ, जसको तापक्रम -२३३ देखि -२२३ डिग्री सेन्टिग्रेड सम्म अन्तर भइरहन्छ। त्यहाँ हिउँ पनि हुनसक्छ तर त्यहाँको हिउँ पृथ्वीको जस्तो हुँदैन, त्यहाँको हिउँमा मरुभूमीको बालुवाको जस्तो घर्षण बढी हुन्छ।

# “अब आउने दिनहरूमा प्लुटोको अर्को उपग्रह पनि पत्ता लगाउन सकिनेछ। अहिले देखिएका उपग्रहको वरिपरि अवस्थित अरू उपग्रहहरूको बारेमा हामीलाई जानकारी भएको छैन। अब यस्ता लुकेर बसेका उपग्रहहरूको खोजी गर्ने काम न्यू होराइजन्सको हुनेछ।”- अनुसन्धानकर्ता ‘मेक किन्नन’ भन्छन्।

# अब केहि दिन मै प्लुटोको ३डि तस्विर पनि देख्न सकिनेछ, जसले गर्दा हामीलाई यसको बारेमा अझै बढी जानकारी हुनेछ।

# प्लुटोको उपग्रह ‘हाइड्रा’ (Hydra) को तस्विर पनि देख्न सकिनेछ। अझसम्म यसको धमिलो तस्विर मात्रै देखिएको छ।

न्यू होराइजन्सको मीहिनेतको मूख्य फल त हामीले चाख्न बाँकी नै छ, अझै १६ महिनासम्म हामीले धैर्य गर्नुपर्ने हुन्छ।