११ कात्तिक, काठमाडौं ।

शुक्रबार दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन् ।

शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेका छन् । यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध थिए ।

film-radha-team

त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र रहेका छन् । यो चलचित्रमा केहीकेही हास्य रस पनि समावेश गरिएको छ । ‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताए । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेखेका छन ।

यता ‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ । चलचित्रका निर्मातासमेत रहेका कुमार जिसीको यसमा मुख्य भूमिका रहेको छ । त्यस्तै बिनिता बराल, रामबाबु रेग्मी, सिपी पौडेल, शिला श्रेष्ठ आदि कलाकारको अभिनय छ ।

चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ ।

त्यसैगरी रु ७२ लाखको लागतमा निर्माण भएको चलचित्र ‘राधा’ पूर्वको झापा र इलामसँगै भारतको दार्जिलिङमा समेत छायाङ्कन गरिएको छ ।

निर्देशक घिमिरेका यसअघि ‘नोटबुक’, ‘भुल भूलैया’ जस्ता चलचित्र प्रदर्शनमा आइसकेका छन् । रासस