३० भदौ, काठमाडौं । चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ ।

नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा आएको हो । क्याम्पसमा यसै शैक्षिक सत्रबाट भर्ना हुनेछ । नेपालमा चलचित्रसम्बन्धी यो दोस्रो कलेज हो ।

क्याम्पसमा यसै शैक्षिक सत्रबाट फिल्ममा स्नातकको अध्ययन शुरु गराउन लागिएको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले जानकारी दिए । कलेजले चलचित्र लेखन/निर्देशन, दृष्य सम्पादन, छायाङ्कन, अभिनय र ध्वनीसम्बन्धी पाँच विषयमा अध्यापन गराउनेछ । कलेजमा हलिउड, बलिउडसहित श्रीलङ्का, भुटान र नेपालका फिल्म विज्ञले पढाउने छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका नयाँ कलेजले काम गर्ने अपेक्षा व्यक्त गरे ।रासस