२५ वैशाख, एजेन्सी।

फ्रान्समा हिजो सम्पन्न दोश्रो चरणको (रन–अफ) राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदबार इम्म्यानुएल म्याक्रोन विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदबार मेरिन लि पेनलाई हराउँदै उनि फ्रान्सको राष्ट्रपति पदमा बिजयी भएका हुन । मतगणनाको परिणाम घोषणा भएको केही बेरमै आफ्नो पराजय स्वीकार गर्दै, नवनियुक्त राष्ट्रपति म्याक्रोनलाई उम्मेदबार मेरिन लि पेनले हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।

३९ बर्षीय म्याक्रोन राष्ट्रपति पदमा विजयी हुनुअघि फ्रान्सको, एक मेधावी छात्र, एक सफल बैंक ब्यवसायी वा उद्यमी लगानीकर्ता, श्रेष्ठ प्रबिधिज्ञ, अर्थबिज्ञ वा आर्थिक सल्लाहकार तथा फ्रान्सका कार्यकुशल अर्थमन्त्रीका रुपमा सुपरिचित थिए। हालसम्मको फ्रान्सेली इतिहासमा उनि सबभन्दा कान्छो उमेरका राष्ट्रप्रमुखका रुपमा पनि परिचित भएका छन् ।

विजय पश्चात् पेरिसमा आयोजित एक स्थानीय आमसभा तथा विजय जुलूसलाई सम्बोधन गर्दै उनले युरोपेली संघ तथा सम्पूर्ण युरोपवासीलाई पुनः संगठित र सशक्त बनाउने सङ्कल्प गरेका छन् । साथै, उनले फ्रान्सेली जनताको विश्वास एक पटक पुनः जिती राष्ट्रको सबलिकरण र सुरक्षामा समर्पित हुने बताउँदै फ्रान्समा अब नवीन अध्यायको शुरुवात भएको घोषणा गरेका छन् ।

नवनियुक्त म्याक्रोनका अगाडी प्रशस्त चुनौतीहरु तेर्सिरहेका हुँदा विजयपश्चात् फ्रान्सका बुद्धिजीविहरु उनको कार्यशैली हेर्न उत्सुक रहेका बताइन्छ ।

मन्द गतिमा अघि बढिरहेको युरोपेली एकतालाई थप जीवन्तता प्रदान गरिनु पर्ने, बेलायतको बहिर्गगमन पश्चात् युरोपेली संघमा बिद्यमान रिक्ततालाई परिपूर्ण पार्नु पर्ने, मुलुकमा ओरालो लाग्न लाग्न लागेको अर्थतन्त्रमा सुधार गरी दृढता पूर्वक सही मार्गतर्फ लग्नु पर्ने तथा मुख्यतया फ्रान्स स्वयंमा खस्कँदै गै रहेको राष्ट्रिय सुरक्षालाई पुनः बलिष्ठ बनाई सम्पूर्ण जनतालाई सुरक्षाको प्रत्याभूति तथा निश्चिन्तता दिनु पर्ने लगायतका अनगिन्ती चुनौतिहरु शुरु देखि नै उनले सामना गर्नु पर्नेछ ।

नवनिर्वाचित राष्ट्रपति इम्म्यानुएलको विजयपश्चात् उनलाई निवर्तमान राष्ट्रपति फ्रान्कोइ हल्यान्डे तथा प्रधानमन्त्रीले तत्कालै बधाई दिएका छन् । त्यस्तै अमेरिकी राष्ट्रपसित डोनाल्ड ट्रम्प तथा जापानका प्रधानमन्त्री सिन्जो आबे लगायत बिश्वका सबैजसो राष्ट्रप्रमुख वा सरकार प्रमुखहरुले धमाधम बधाई ज्ञापन गरेका समाचारहरु आइ रहेका छन् ।

यता, यस दोश्रो चरणको निर्वाचनमा केही उल्लेख्य सङ्ख्याका मतदाताहरुले रित्तो वा रद्द भइ सकेको मतपत्र खसालेका भनी फ्रान्सका मतदान सर्वेक्षण संस्थाहरुले जनाएका छन् ।