११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेर सडकमा गुडिरहेको एक ट्रक राङ्पुर जिल्लाको सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । घटनामा आठजना अन्य घाइते भएका छन् ।

बङ्गलादेशको प्रहरीले ट्रकमा मुस्लिम इद बिदा मनाउन हिँडेकामध्ये १६ जनाको मृत्यु भएको र आठजना घाइते भएका बताएको छ ।

मृतक प्रायः राजधानी ढाकामा मजदुरी गर्ने श्रमिक रहेका छन् । उनीहरु इदको बिदामा पर्व मनाउन घरतर्फ हिँडेका बताइएको छ ।

घटनामा बाँच्न सफल एक व्यक्तिले ट्रक चालकले आफूलाई निद्रा लागेको बताउँदै विस्तारै ट्रक हाँक्न सहयोगीलाई लगाई सुतेपछि दुर्घटना भएको बताएका छन् ।

इद पर्व नजिकिँदै गर्दा भएको सडक दुर्घटनाले रमाइलो र खुसी साट्ने आकाङ्क्षाका साथ आफन्तलाई पर्खिबसेका लाखौँ बङ्गलादेशीलाई स्तब्ध पारेको छ ।

कमजोर सडक संरचना, ट्राफिक नियममा हुनुपर्ने नियमनमा हेलचेक्र्याईं भारवहन क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका समस्यालाई नजिकबाट निगरानी नहुँदा हरेक वर्ष बङ्गलादेशमा ठूलो सङ्ख्यामा यात्रुले दुर्घटनाका कारण ज्यान गुमाउने गर्छन् । रासस÷सिन्ह्वा