यदि तपाईको बच्चा स्मार्टफोन अथवा कम्प्युटर डिभाइसमा बढी समय बिताउने गरेका छन् भने सावधान रहन वैज्ञानिकहरुले चेतावनी दिएका छन् । स्मार्टफोनमा बढी खेल्ने बच्चाहरुमा ड्राई–आई अर्थात् आँखामा सुखापनको समस्याको जोखिम बढी हुने वैज्ञानिकहरु बताउँछन् ।

दक्षिण कोरियाको चुङ्ग आङ्ग युनिभर्सिटी हस्पिटलका अनुसन्धानकर्ताका अनुसार, भिडियो डिस्प्ले टर्मिनल (भिडिटी) जस्तै स्मार्टफोन, कम्प्युटर बढी प्रयोग गर्ने सम्बन्धि ‘ओक्यूलर सरफेस सिम्पटम्स’ अर्थात् आँखासम्बन्धि समस्या बालबालिकामा बारम्बार पाइएको छ ।

baby-smart-phone

अध्ययनकर्ताले ९ सय १६ बालबालिकालाई आँखा परिक्षणका लागि सहभागी गराएका थिए । बालबालिका र उनको परिवारलाईं केहि प्रश्न गरियो जसमा भिडिटी प्रयोग, खेलकूदको गतिविधि, सिक्ने र ओक्युलर सरफेस डिसिज इन्डेक्समा परिवर्तन सम्बधि थिए ।

सहभागीलाई दुई समूहमा बाँडियो, जसमा ६३० बालबालिका शहरी क्षेत्रका र २ सय ८६ ग्रामिण क्षेत्रका थिए । शहरी समूहमा स्मार्टफोनको प्रयोगको दर ६१.३ प्रतिशत र ग्रामीण समूहका ५१ प्रतिशत थिए । शहरी समूहको ८.३ प्रतिशत बालबालिकामा ड्राइ आई डिसिजको समस्या पाइयो भने ग्रामीणका २.८ प्रतिशत बालबालिकामा मात्रै पाइयो ।

बालबालिकामा देखिने डीईडी’ समस्याको मुख्य कारण स्मार्टफोनको प्रयोगलाई यस शोधमा मानिएको छ । यो शोध ‘बीएमसी ओप्थेल्मोलोजी’ पत्रिकामा प्रकाशित छ ।