१९ माघ, वीरगन्ज।

आन्दोलनरत सङ्घीय समावेशी मधेसी गठबन्धनले सीमा नाकाको धारणा यथावत् राख्दै केही समयका लागि बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने निर्णय गरेको छ ।

आन्दोलनलाई अझ बढी व्यवस्थित बनाउनाका साथै आन्दोलनरत सबै दल र मोर्चालाई मिलाएर महागठबन्धन निर्माण गर्नका औपचारिक रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्ने बैठकले निर्णय गरेको गठबन्धनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले जानकारी दिए । बैठक आइतबार र सोमबार गरी दुई दिनसम्म वीरगन्जमा सञ्चालन भएको थियो ।

तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवम् गठबन्धनका नेता जेपी गुप्ताले मधेसको माग सम्बोधन गराउनका लागि मधेसकेन्द्रित सबै दलबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनलाई परिणाममुखी बनाउनका लागि मधेसी, थारु, आदिवासी जनजाति, दलित र मुसलमान लगायत सबै वर्ग र समुदायलाई आन्दोलनमा सक्रियताका साथ लाग्न आह्वान गरे। मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले गठबन्धन मधेसका जिल्लामा विरोधसभा, जनप्रदर्शन, जनजागरण लगायत कार्यक्रम तय गरेर अगाडि बढ्ने बताए। रासस