२० साउन, काठमाडौं ।

सत्तारुढ नेकपा एमालेले चालु आर्थिक वर्षको बजेटमा संयुक्त सरकारको गन्ध नआएको भन्दै पुनरावलोकनको माग गरेको छ । एमालेको स्थायी समितिको बुधबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले बजेट नेपाली काँग्रेसका मन्त्रीमुखी भएको निष्कर्षसहित पुनरावलोकन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार पुनरावलोकनका लागि एमालेले प्रधानमन्त्री सुशिल कोइरालालाई ध्यानाकर्षणपत्र बुझाउने छ । बैठकपछि पार्टी सचिव प्रदिप ज्ञवालीले बजेटमा संयुक्त सरकार र सहकार्यको संस्कृति प्रतिविम्बित हुनुको साटो काँग्रेसको एउटा गुटलाई पक्षपोषण गर्ने कार्यक्रम समावेश भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिए ।

UML Baithak

नेकपा एमालेका सभासद्हरुले व्यवस्थापिका संसद्का हरेक बैठकमा बजेट एकपक्षीय भएको, अर्थमन्त्री र काँग्रेसका अन्य मन्त्रीका निर्वाचन क्षेत्रमा अन्य पाँच जिल्लामा भन्दा बढी योजना र बजेट राखिएको भन्दै पुनरावलोकन नगरे पास गर्न असहयोग गर्ने चेतावनी दिंदै आएका छन् ।

स्थायी समितिले साउन मसान्तसम्म कुनै पनि हालतमा संविधान जारी गरिनुपर्ने र त्यसका लागि सबै प्रयास लगाउने निर्णय पनि गरेको छ । बैठकले नेपाली काँग्रेस सरकारको आयु लम्ब्याउने षड्यन्त्रमा लागेको ठहर गर्दै सबै षड्यन्त्रलाई असफल पारेर साउन मसान्तमा संविधान जारी गर्न सबै शक्ति लगाउने निर्णय गरेको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री सुशिल कोइरालाले सीमांकनको विवाद् टुंग्याउने मामलामा एमाले रुढीवाद बनेको र आफूमाथि अनावश्यक शंका गरेको अभिव्यक्ति सार्वजनिक गरेपछि चार दिनयता काँग्रेस र एमालेको सम्बन्धमा चिसोपना बढेको छ ।