२३ पुस, तनहुँ।
जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।

समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो ।

Nepal Tanahun Bandipur

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले बताए । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने होटल व्यवसायीको भनाइ छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटरको दरीमा रहेको डुम्रे हुँदै त्यहाँदेखि आठ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।