४ साउन, गुलरिया (बर्दिया)।
हालसम्म बर्दियामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

एक महिना अघिदेखि पानी पर्न सुरु गरेकाले यस वर्ष साउनको सुरुवातमै ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

समयमै पानी परेकाले नदीमा पानी बढेर नहरमा पनि समयमै पानी चढेकाले सिञ्चित क्षेत्रमा धान रोपाइँको काम सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताए।

समयमै वर्षा र सिँचाइ सुविधा भएकाले रोपाईँ राम्ररी सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।

आकासे पानीका अतिरिक्त सुक्खा क्षेत्रमा कृषकले पम्पसेट र बोरिङ मेसिनबाट पनि पानी तानेर धान रोपाइँँ गरेका छन् । समय समयमा पानी परिरहेकाले पानी कम भएका स्थानका कृषकलाई यस वर्ष राम्रो राहत मिलेको छ ।

यस वर्ष पानी परेकाले राहतको महसुस भएको बर्दियाका कृषक विक्रम चौधरीले बताए । यस वर्ष वर्षात्ले साथ दिइरहेकाले गत वर्षको भन्दा यस वर्ष धान उत्पादन राम्रो हुने पनि उनले बताए ।

यस जिल्लामा मुख्य गरी सावित्री, सवामन्सुली, राधा चार, मकवानपुर, हर्दिनाथ, रामधान, सिन्दूर, अनन्दीलगायत धान र हाइब्रिड जातका धान पनि कृषकले लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रचार अधिकृत शिवराज सुवेदीले जानकारी दिए।

बर्दियामा सिँचाई हुने ४२ हजार ८०० हेक्टरमध्ये बर्ष भरी सिञ्चित हुने क्षेत्र २७ हजार १०० हेक्टर क्षेत्रफल रहेको छ । जिल्लामा खेती गरिने कुल ६० हजार १०० हेक्टर क्षेत्रफलमध्ये ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बाँकी क्षेत्रफलमा भने कृषकले आकासे पानीकै भरमा धान खेती गर्ने गर्दछन् ।

पानी प¥यो भने उत्पादन बढ्ने र नपरे उत्पादनमा ह्रास आउने भएकाले कृषक पानी पर्दा खुसी र नपर्दा चिन्तित हुने गरेका छन् । गत आवको तुलनामा लामो खडेरी र पातफेरुवा किराको प्रकोपका कारण झन्डै पाँच प्रतिशतले धान उत्पादन घटेको थियो ।

अघिल्लो वर्ष ५२ हजार हेक्टर क्षेत्रफलमा कुल दुई लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने गत वर्ष एक लाख ९५ हजार मेट्रिक टन मात्र धान उत्पादन भएको थियो ।

यस बर्ष पहिलेनै मौसमले साथ दिइरहेकाले उत्पादन बढ्न सक्ने अनुमान गरिएको जनकारी जिल्ला कृषि विकास कार्यालयले दिएको छ ।रासस