१३ कार्तिक, इलाम । संविधानसभा निर्वाचन बहिस्कार गरेका राजनीतिक दलका कार्यकर्ता पनि अन्य पार्टीको लागि भोट माग्दै हिँड्न थालेका छन् ।

मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्को नयाँ बजार गाउँ कमिटी अध्यक्ष भीम भण्डारी राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी कार्यक्रममा भेटिए । चुनावबाट मात्रै मुलुक र गाउँका समस्या समाधान हुने भन्दै भण्डारीले चुनावी अभियानमा आफ्नो विचार मिल्ने पार्टीमा लागेको बताए ।

“हाम्रो पार्टीले पनि चुनावमा सहभागिता जनाएर जनमत जित्नु पथ्र्यो” पार्टी छाड्नुको कारण खुलाउँदै भण्डारीले भने । थुप्रै कार्यकर्ता चुनावमा मत हाल्ने पक्षमा रहेको उनको भनाइ छ ।

मञ्च सम्बद्ध लिम्बुवानका मौसम लिम्बू पनि पार्टीले अहिलेसम्म गरिब किसानको पक्षमा केही गर्न नसकेको भन्दै पार्टी छाड्ने तयारीमा रहेको बताउँछन् । ‘चुनाव जितेर केन्द्रमा बहस गर्दा पो लिम्बूवान पाइन्छ त ?’, उनी भन्छन्, ‘चुनावमै नगएपछि कसरी हाम्रो मुद्दा सम्बोधन हुन्छ ?’ मुद्दा मिल्ने राजनीतिक दलमा लाग्ने सोच भएको उनको भनाइ छ ।

अघिल्लो संविधानसभा निर्वाचनमा सहभागिता जनाएको परिषद् यसपटक चुनावको विरोध गर्दै आन्दोलनमा छ ।

अघिल्लो संविधानसभा निर्वाचन बहिस्कार गरेको सङ्घीय लिम्बुवान राज्य परिषद् भने चुनावी दौडमा छ । लिम्बुवान प्राप्तिलाई प्रमुख मुद्दा बनाएर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा परिषद्ले उम्मेदवारी दिएको छ । रासस