५ भदौ, काँकडभिट्टा । झापाको काँकडभिट्टामा बाँदरको आक्रमणबाट १४ जना घाइते भएका छन् ।

काँकडभिट्टा बजारमा दुई दिनभित्रमा एक्ले बाँदरले विद्यालय जाँदै गरेका विद्यार्थी र बाटोमा हिँड्ने यात्रु तथा साइकलयात्रीमाथि आक्रमण गर्दा १४ जना घाइते भएका हुन् ।

मेचीनगर ११ को भान्साखोला क्षेत्रमा बस्ने एक्ले बाँदरले मान्छे देख्नासाथ झम्टिने गरेको  स्थानीयवासीको भनाइ छ ।

स्थानीयबासीका अनुसार बाँदर आक्रमणमा परी घाइते हुनेमा सबैभन्दा बढी काँकडभिट्टा उच्चमाविमा पढ्ने विद्यार्थीहरू छन् ।

स्थानीय क्लिनिकहरूमा दुई दिनयता बाँदरको आक्रमणबाट घाइते भएर आउनेहरूको संख्या बढेको छ । स्वास्थ्यकर्मी दिलिप सुवेदीले घाइतेहरूलाई बाँदरको टोकाइबाट रेबिजको खतरा हुने जनाउँदै त्यसविरुद्धको भ्याक्सिन लगाउन सुझाव दिएको बताए । रासस