२८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताएका छन् । उनले बागमती सफाई महाअभियान आफैमा मौलिक अभियानका रुपमा स्थापित हुन पुगेको बताएका हुन् ।

शनिबार बिहान शंखमुलमा बागमती सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल प्राकृतिक रुपमै सुन्दर देश भएको बताए । ‘यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ’,उनले भने,‘बागमती सभ्यताको संरक्षण अभियानमार्फत् देशैभरको फोहोर सफा गर्ने गरी आजैदेखि राष्ट्रिय सरसफाई अभियानको समेत घोषणा गरिएको छ ।’ अभियानमा नेपाल सरकारको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रधानमन्त्रीले बागमती सफाई अभियानले देशको राजनीतिलाई सफाई गर्न ठूलो प्रेरणा मिलेको भन्दै नेपालीहरुको राष्ट्रिय पहिचानको अभियानका रुपमा यसको विकास हुँदै गरेकोमा अभियानमा सहभागी सबैमा आभार व्यक्त गरे ।