२९ साउन, काठमाडौं । तीन दिन यताको अविरल वर्षाका कारण पूर्वी तराईमा अर्को पीडा थपिएकोछ । विद्युत आपुर्ति बन्द हुँदा स्थानीय थप पीडित भएका छन् ।

विभिन्न स्थानमा विद्युत सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठका अनुसार सिरहाको लहानदेखि पूर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति हुनसकेको छैन । शुक्रबार मध्यरातदेखिको अविरल वर्षाका कारण तराईका थुप्रै जिल्ला डुबानमा परेका छन् ।

जिल्लामा विद्युत वितरण गर्नका लागि बनेका सबस्टेशन पनि डुबेका कारण पूर्वि तराई पुरै ब्ल्याकआउट भएको छ । पानीको लेभल घटि हालेपनि तत्काल विद्युत आपुर्ति हुनसक्ने स्थिति छैन । यस्ता डुबेका स्बस्टेशनहरु चेकजाँच पछि मात्रै विद्युत सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । जसका कारण पनि पूर्वी तराइमा विद्युत प्रसारण हुन सकेको छैन । हेटौंडा ढल्केबर प्रशारण लाइनमा ठूला रुखहरु ढलेका कारणले पनि उक्त वरपरको क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध आएको छ । पूर्वी चितवनमा पनि बिजुली आपूर्ति ठप्प छ ।