२८ भदौ, सप्तरी ।

सप्तरीका मतदाताले बर्षेनी खेप्नुपर्ने बाढी र डुवानको समस्यालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । मत माग्न घरदैलो आएका प्रायः सबै उम्मेदवारलाई उनीहरुले ‘बाढी र डुवानबाट मुक्त गराउन के गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधेर दबाब बढाइरहेका हुन ।

बाढी र डुवानबाट बढी प्रभावित कञ्चनरुप र हनुमानगर कंकालिनी नगरपालिका तथा तिरहुत, वलानबिहुल र तिलाठी–कोइलाडी गाउँपालिकाका मतदाता बाढीको स्थायी समाधानसहित स्थानीय विकासका लागि प्रतिवद्ध हुने उम्मेदवारलाई मत दिने पक्षमा छन् ।

मतदाताको चर्को दबाबका कारण उम्मेदवारले पनि बाढी र डुवानको समस्यालाई मुख्य चुनावी नारा बनाएका छन् । मतदाता रिझाउन ब्यस्त उनीहरु साना आयोजना स्थानीय तहले नै सञ्चालन गर्ने र ठूलाका लागि केन्द्र सरकारलाई दबाब दिने बताउँछन ।

साउन अन्त्यको बाढीले बिचल्ली बनाएका कारण पनि मतदाताले यो मुद्दालाई प्रधान बनाएका हुन् । खाडो, महुली, जितालगायत खोलामा आउने बाढीले सप्तरीमा बर्षेनी क्षति पु¥याउँछ ।