२० माघ, गोरखा।
वैशाखमा गएको ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ । सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

तारविहीन इन्टरनेट सञ्चालन गरेर अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कारबाट पुरस्कृत भइसकेका महावीर पुनको सक्रियतामा बारपाक र भच्चेकमा इन्टरनेट सेवा पुगेको हो । ९५ लाख रुपैयाँको लगानीमा ती गाउँमा इन्टरनेट विस्तार गरिएको हो । इन्टरनेट सोसाइटी नामक विदेशी संस्थासँगको सहकार्यमा पुनले दुर्गम भेगमा इन्टरनेटको पहुँच पुर्याएका हुन् । अन्य गाउँ, क्षेत्रमा पनि इन्टरनेटको माग भएमा लगानी वृद्धि गरेर सेवा दिन सकिने पुनले बताए ।

बारपाक र भच्चेकमा दुई÷दुईजना प्राविधिकले इन्टरनेट जडानको काम गरेका हुन् । “दुबै गाउँमा इन्टरनेट सेवा सुरु भयो”, प्राविधिक सूर्य सुवेदीले भने, “गाउँलेले मोबाइल र कम्प्युटरबाट इन्टरनेटको सुविधा लिइरहेका छन् ।” विशेषगरी विद्यालय क्षेत्रमा र घरघरमा इन्टरनेटको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।

गत पुस महिनादेखि यी क्षेत्रमा इन्टरनेट जडानको प्राविधिक काम सुरु भएको थियो । माघको पहिलो साताभित्र इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरेपनि नाकाबन्दीले गर्दा सामान खरिद र ढुवानी गर्न नसक्दा ढिलाइ भएको पुनले बताए। अझै केही ब्याट्रीको ढुवानी गर्ने काम बाँकी छ ।

सदरमुकामको सतिपिपल डाँडाबाट सर्भर मार्फत इन्टरनेटको तरङ्ग फालिएको छ । पहिलोपटक भच्चेकमा इन्टरनेट चलेको हो । बारपाकमा यसअघि पनि इन्टरनेट सेवा थियो तर प्रभावकारी थिएन । इन्टरनेट चलेपछि स्थानीयवासी सामाजिक सञ्जालका साथै अनलाइन समाचार पढेर तत्कालै खबर थाहा पाउँदा खुसी भएको भच्चेकका जितबहादुर गुरुङले बताए ।

पुनले बारपाक, भच्चेकका साथै भूकम्पपीडित अर्काे जिल्ला सिन्धुपाल्चोकमा पनि इन्टरनेट जडानको काम गर्नुभएको छ । पुनको सक्रियतामा दुई बर्षअघि मनास्लु पदमार्गको केही ठाउँमा जडान गरिएको इन्टरनेट अहिले पनि सञ्चालनमा छ । रासस