२४ असार, काठमाडौं । दोस्रो चरणमा स्थानीय चुनाव भएको मोरङको बिराटनगर महानगरपालिकामा नेपाली काँग्रेस जित नजिक पुगेको छ । अहिले वडा नम्बर १०, ११ र १२ नम्बर वडाको मत गणना जारी छ ।

अन्य वडाको परिणाम आइसकेको छ । घोषित १६ वटा वडाको अन्तिम परिणाम अनुसार कांग्रेसका भीम पराजुलीले मेयरका लागि १९ हजार १ सय ५१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १३ हजार ८ सय ३५ मत ल्याएका छन् ।

मतको अन्तर ५ हजार ३ सय १६ छ । अब तीन वटा वडामा गरी १९ हजारको हाराहारीमा मत गन्न बाँकी छ । १६ वडामध्ये कांग्रेसले ७ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ५, २ एमाले र १/१ माओवादी र स्वतन्त्रले जितेका छन् ।

त्यस्तो कुनै चमत्कार नभए अब कांग्रेसका पराजुली मेयर पदमा जित्ने पक्का देखिएको छ । यसका साथै उपमेयरकी उम्मेदवार कांग्रेसकै इन्दीरा कार्कीले पनि जित निकाल्ने पक्का देखिएको छ । कार्कीको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नमिता न्यौपानेसँग ६ हजारबढी मतअन्तर देखिएको छ ।

विराटनगरमा कांग्रेसलाई चुनौति दिन एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादी फोरमबीच गठबन्धन भएको थियो । दुवै गठबन्धन कांग्रेसका लागि चुनौति देखिएको थियो ।