१९ असोज, सुरुङ्गा (झापा)।
ब्रुनाईमा बस्दै आएका झापा दमकका कलिन्द्र शेर्माले जिल्लाका विपन्न दुईजना बिरामीलाई १०-१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

शारीरिकरुपमा अशक्त झापा, तोपगाछी–५ किराँत चौककी ३२ वर्षीया गीतामाया लिम्बू र तोपगाछी–२ का मिर्गाैला रोगी श्यामबहादुर मगरलाई उक्त रकम सहयोग गरेका हुन । शेर्माले पठाएको उक्त सहयोग रकम सङ्घीय लिम्बुवान् महिला परिषद् झापाको समन्वयमा मंगलबार हस्तान्तरण गरिएको छ ।

दाताले पठाएको सहयोग रकम गीतामायाका बुबा किर्तिध्वोज, आमा सुकमाया र बहिनी हाङ्मालाई तथा मिर्गौला रोगी मगरका बुबा सूर्यबहादुरलाई प्रदान गरिएको छ ।

आफ्नो घर जग्गा नभएको पीडित गीतामायाको आमाबुबा ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउने गर्छन् । शारीरिकरुपमा अशक्त गीतामाया पछिल्लो समय घरभित्र घिस्रिएर मात्र हिँड्डुल गर्नसक्ने अवस्थाकी छिन् ।

यसैवीच, लिम्बुवान् चलचित्र विकास बोर्डले मगरको उपचारमा साङ्गीतिक कार्यक्रम गरी १२ लाख रुपैयाँ सहयोग जुटाएको बोर्डका प्रवक्ता अशोक क्षेत्रीले बताएका छन् । सो रकम केही दिनमा नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस