२० माघ, काठमाडौं ।

नेपाल चुरेभावर राष्ट्रिय एकता पार्टीले विहारका नेताहरुले नेपालको विषयमा दिएको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै नेपालमाथिको हस्तक्षेपको जुधेर सामना गर्ने उद्घोष गरेको छ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले जारी गरेको विज्ञप्तिमा, “नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभीमानमाथि आघात पुग्ने गरी बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र पूर्व मन्त्री रघुबंशप्रसाद सिंहले दिएको अभिव्यक्ति स्वाभीमान नेपालीका लागि अत्यन्तै आपत्तिजनक छ । यस्तो अभिव्यक्ति दिइ नेपाल र नेपालीको राष्ट्रिय स्वाभीमानमा ठेस पु्र्‍याउने कार्यप्रति चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल घोर भत्र्सना एवम् निन्दा गर्दछ” भनिएको छ ।

chure bhawar on Bihari Leader

त्यसैगरी चुरे भावरले मधेसी मोर्चाका तीन शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँगको भेटवार्तामा उनीहरुले दिएको अभिव्यक्तिले छिमेकी मुलुकमाथि ठाडो हस्तक्षेप भन्दै अभिव्यक्तिविरुद्ध चुरे भावर पार्टीले ‘सधै जुधेर सामना गर्ने’ पनि जनाएको छ ।

चुरे भावरको विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरेर कसैले पनि अभिव्यक्ति दिन पाइँदैन । एउटा सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर दिइएको अभिव्यक्तिको हामी घोर बिरोध गर्न चाहन्छौँ । शान्तिपूर्ण राजनीतिक रुपमा आफ्ना अधिकार र माग उठाउन पाउने संवैधानिक अधिकार सबैमा रहेको छ ।”