१६ मंसिर, बुटवल । संविधान संसोधन विधयेकमार्फत् पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गर्न खोजिएको भन्दै बुटवलमा भएको प्रदर्शनमा झडप भएको छ ।

नेतृत्वविहीन प्रदर्शनकारीको भीडले अस्पताल लाइननजिकै शहीद पार्कमा रहेको माओवादीको शहीद स्तम्भ ढलाउनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झण्डै २ घण्टा दोहोरो झडप भएको हो ।

jhadap_butwal

झडपका क्रममा २ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि शहीद पार्कमा रहेको शहीद स्तम्भको हसिया हथौडा हटाएर नेपालको झण्डा राखेका छन् ।

प्रदर्शनकारीले आजै बुटवलमा तीन वटा गाडीमा तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका हुन् ।

यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान र लु ९ प ३३ ९९ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् । संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरिएको छ ।