२६ मंसिर, मुस्ताङ । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन् ।

नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न चिनियाँ पक्षले चासो देखाएका हुन् ।

तिब्बतसँग सीमा जोडिएको कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँच पुगेपछि चिनियाँ पक्षले नेपाल सरकारसमक्ष यस्तो चासो देखाएको बताइएको छ । सरकारले चिनियाँ पक्षलाई सडकको विस्तृत अध्ययनका लागि अनुमति दिएको सडक विभागले जनाएको छ ।

सडक विभागका दुईसहित आठ जना चिनियाँ इञ्जिनियरको टोलीले सडकको विस्तृत अध्ययन गरेको जिल्ला विकास समितिका इञ्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

दुई देशलाई जोड्ने सडक जीर्ण हुँदा कोरला नाका सञ्चालन गरिएपनि तत्काल आयात–निर्यातको काम गर्न सम्भव छैन । व्यवस्थापिका–संसद्को विकास समितिले हालै गरेको कोरला नाकाको स्थलगत भ्रमणपछि सरकारलाई बुझाएको प्रतिवेदनमा पनि सडकको स्तरोन्नतिलाई पहिलो प्राथामिकता दिइएको छ ।

बेनी–जोमसोम, जोमसोमदेखि कोरला जोड्ने सडकलाई विशेष तरिकाले मर्मतसम्भार गरिनुपर्ने समितिले निष्कर्ष निकालेको थियो । “चिनियाँ पक्षको सडक चासो धेरै पहिलादेखिको हो, अहिले उनीहरुले विस्तृत अध्ययन थालेका छन्”–इञ्जिनियर शर्माले भने, “सरकारले अनुमति दियो, चीन सरकार तयार देखिएको छ ।”

विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने समस्याले वर्षको दुई महिना बेनी–जोमसोम सडक अवरुद्ध हुँदै आएको छ ।