२८ असार, काठमाडौ । कीर्तिपुरस्थित भत्केपाटीमा रहेको “बेबी लाइभ होम”लाई यस वर्षको जनकल्याण प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । थापाथली जनकल्याण परिवारद्धारा स्थापित सो पुरस्कारको राशि रु दस हजारसहित सम्मानपत्र रहेको छ ।

एचआइभी सङ्क्रममित अनाथ बालबालिकाहरुलाई पालनपोषण तथा शिक्षा प्रदान गर्दै आइरहेको सो होममा हाल १७ जना एचआइभी सङ्क्रमित बालबालिका रहेका छन् । ती मध्ये ११ जना बालक र छ जना बालिका रहेका होमका अध्यक्ष राजकुमार पुनले जानकारी दिए । कुनै दाताको आर्थिक सहयोगबिना आफ्नो निजी खर्चमा अध्यक्ष पुनले ती बालबालिकाको हेरचाहको व्यवस्था गरिरहनुभएको छ ।

त्यसैगरी परिवारद्धारा स्थापित “युगनाथ जनकल्याण पुरस्कार निःसहाय सेवा सदन तीनकुने काठमाडौलाई प्रदान गरिने भएको छ । वृद्धवृद्धाहरुका लागि वृद्धाश्रम सञ्चालन गर्दै आएको सो सदनलाई प्रदान गरिने पुरस्कारको राशि रु १० हजार रहेको छ ।

परिवारका कार्यालय सचिव भरत राईले दिनुभएको जानकारी अनुसार परिवारले दृष्टिविहीन सङ्गीतकार तारानन्द चौधरीलाई गोपालप्रसाद जनकल्याण पुरस्कार प्रदान गर्ने जानकारी दिए । सो पुरस्कारको राशि नगद रु १० हजारसहित सम्मानपत्र रहेको छ ।

त्यसैगरी परिवारले गुह्येश्वरी बालशिक्षा माविबाट २०६८ सालको प्रवेशिका परीक्षामा सर्वात्कृष्ट अङ्क प्राप्त गर्ने सुश्री अनिता श्रेष्ठलाई नन्दलाल जनकल्याण प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु पाँच हजार नगदसहित सम्मानपत्र रहेको छ ।

परिवारको २३ औँ वार्षिकोत्सवका अवसरमा भोलि ती पुरस्कार प्रदान गरिने छ । रासस