१६ चैत, काठमाडौं ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विस्तारिक बैठकले २० बुँदे समसामयिक प्रस्ताव तयार गरेको छ ।

बैद्य माओवादीले सप्तरी घटना, कञ्चनपुर घटनाको विरोध गर्दै दोषीलाई कारवाही गर्न र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ । नेपाल भारत सिमानामा कडाई गर्नका लागि भारतीय पक्षसँग वार्ता गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

भुकम्प पीडितको समस्या समाधान गर्न सरकार उदासिन भएको, एनसेल कर उठाउन असफल भएको भन्दै क्रान्तिकारी माओवादीले त्रिभुवन विमास्थलमा भारतीय एयर मार्शललाई बास बस्न दिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

बैठकले पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालोको रिहाईको माग पनि गरेको छ । बैठकपछि जारि गरिएको विज्ञप्तीमा भनिएको छ, ‘गत १९९२ देखि अविच्छिन्न २५ वर्षसम्म अमानविय ढङ्गले कारागारमा राखिएका पेरु कम्युनिस्ट पार्टी (साईनिङ्ग पाथ)का अध्यक्ष गोञ्जालोको विना सर्त रिहाईका लागि पेरुभियाली सरकारसंग विशेष माग गर्दछ ।’

त्यस्तै ‘सिरिया र यमन लगायत पश्चिम एशियाली देशहरुमा अन्तरराष्ट्रिय साम्राज्यवादीहरु र क्षेत्रीय शक्तिहरुद्वारा युद्ध थोपरेर निहत्था जनसमदायहरुको निर्मम हत्या अपहरण र विस्थापनको समस्यालाई तत्काल रोक लगाउन संयक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन चाहन्छ, विाज्ञप्तीमा भनिएको छ ।

युक्रेन र उत्तरकोरिया लगायतका देशहरुको आन्तरिक मामिलामा भएको हस्तक्षेपको पनि बैठकले विरोध गरेको छ ।