९ जेठ, काठमाडौं । सबैको चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोचक मोडमा पुगेको छ । एमालेका प्रमुख पदका उमेद्बार देबी ज्ञवालीले माओवादी केन्द्रकी उमेद्बार रेणु दाहाललाई झण्डै ४ हजार मतले पछाडि पारिसकेका छन् ।

तर अझै पनि रेणुको कमब्याक हुने संभावना रहेको विश्लेषण गरिएको छ । अहिलेसम्म गणना गरिएका १४ वटा वडाहरु विशेषगरी एमालेको प्रभाव रहेको क्षेत्र हो । अब गणना गर्न बाँकी रहेका १३ वटा वडाहरुमा काँग्रेस र माओवादी केन्द्रको प्रभाव रहेको मानिन्छ ।

त्यसकारण पनि रेणुले जित्ने आंकलन गरिएको छ । तर यो त्यत्ति सहज भने छैन । काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण काँग्रेसको सबै भोट माओवादीलाई खसेको छैन । जसलाई पुष्टि गर्न एमालेका उपप्रमुख र काँग्रेसका उपप्रमुखको मतपरिणाम हेर्दा पुग्छ ।

प्रमुख पदमा एमालेका ज्ञवालीले अग्रता लिए पनि उपप्रमुखमा काँग्रेस उमेद्बार एमालेभन्दा २ हजार भन्दा बढी मतले अगाडि छिन् । वडा नम्बर २७ कै मतगणनालाई हेर्दा पनि ४० प्रतिशतको हाराहारीमा मात्रै काँग्रेसको भोट रेणुलाई खसेको छ ।

यसले गर्दा काँग्रेसको गढ मानिएका वडाहरुमा रेणुलाई कसरी मत आउँछ भन्ने कुराले विशेष अर्थ राख्छ । रेणुले चुनाव जित्नका लागि अब प्रत्येक वडामा ३ सय भन्दा बढी मतको अग्रता लिँदै जानुपर्छ ।

जुन अहिलेसम्मको अनुपात हेर्दा निकै कठिन हो । तर काँग्रेस र माके गठबन्धन अझै चुनाव जित्न सकिने विश्लेषण गर्दै बसेको छ ।